जापान सरकारले कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन भ्यारिएन्टका कारण सीमामा लगाएको कठोर नियन्त्रण आंशिक रुपमा खुलाउनेबारे विचार गरिरहेको छ । सोमबार स्रोतहरुले बताएको भन्दै जिजी प्रेसले समाचार छापेको हो ।
जापानमा नवप्रवेशी विदेशीहरुको प्रवेशमा लगाइएको प्रतिबन्धलाई सैद्धान्तिक रुपमा कायम राख्दै सरकारले जापानी नागरिकका विदेशी परिवारका सदस्यका साथै विदेशी विद्यार्थीहरुलाई प्रवेश गर्न दिने योजना बनाएको स्रोतको भनाइ छ । जापानले नोभेम्बर ३० मा ओमिक्रोनको संक्रमण फैलिन नदिन जापानमा विदेशीहरुको प्रवेशमा रोक लगाएर सीमितलाई मात्रै अपवादको रुपमा आउन दिएको थियो । यो उपाय शुरुमा डिसेम्बरको अन्त्यसम्म एक महीना मात्रै कायम रहने भनिएको थियो ।
तर प्रधानमन्त्री फुमिओ किशिदाले डिसेम्बर २१ मा यसको म्याद तत्कालका लागि बढाउने बताए । सरकारले कम्तिमा पनि वर्षको अन्त्य र नयाँ वर्षको सार्वजनिक बिदाका बेलामा संक्रमणको अवस्थाबारे मूल्यांकन गर्ने अनि त्यसपछि मात्रै के गर्ने भन्नेबारे विचार गर्ने उनको भनाई थियो । अहिलेका लागि सरकारले सीमामा गरिएको कडाईलाई फेबु्रअरीको अन्त्यसम्म कायम गर्ने निर्णय गरेको छ ।