एमाले जिल्ला अधिवेशन: दैलेखको निर्वाचनबारे प्रदेशस्तरमा कमिटी बनाएर छानबिन गरिने
एमाले जिल्ला अधिवेशन: दैलेखको निर्वाचनबारे प्रदेशस्तरमा कमिटी बनाएर छानबिन गरिने

मतदान गरेका मतदाताभन्दा मतपत्र बढी भेटिएपछि यसबारेमा कमिटी बनाएर छानबिन गर्ने योजना बनाइएको छ।

    • बेल संचार

    • २९ पुष २०७८, बिहीबार

नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत दैलेखमा देखिएको समस्याबारेमा कर्णाली प्रदेशस्तरमा कमिटी गठन गरी छानबिन गर्ने तयारी गरिएको छ।

मतदान गरेका मतदाताभन्दा मतपत्र बढी भेटिएपछि यसबारेमा कमिटी बनाएर छानबिन गर्ने योजना बनाइएको छ।

मंगलबार भएको निर्वाचनमा ७२१ मतदातामध्ये ७१८ जनाले मतदान गरेका थिए। मतपेटिका खोल्दा भने ७४८ वटा मत भेटिएका थिए। मतपत्र बढी भेटिएपछि मतगणना नै स्थगित गरिएको थियो।

दैलेखमा पदाधिकारी छान्नका लागि भएको पहिलो निर्वाचन नै रद्द गरी अर्को मितिमा निर्वाचन गराउने तयारी गरिएको एमालेका कर्णाली प्रदेश कमिटी विनोदकुमार शाहले बताए।

‘यसबारेमा केन्द्रसँग पनि सल्लाह भइरहेको छ, दैलेखमा अर्को निर्वाचन हुन्छ,’ शाहले भने, ‘छानबिनको सन्दर्भमा भने माथिल्लो कमिटीले गर्ने तय भएको छ।’

राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै अबको एक साताभित्र दैलेखमा अर्को निर्वाचन गराइसक्नेगरी तयारी गरिएको शाहले बताए।
शाहका अनुसार कर्णाली प्रदेश कमिटीले अबको केही दिनमा छानबिन समिति गठन गरिनेछ।

उक्त कमिटीले निर्वाचनमा भएको त्रुटीबारे छानबिन गरी प्रतिवेदन तयार पार्नेछ।

दैलेखमा रवीन्द्र शर्मा र सूर्यबहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

कालीकोटमा मतदान जारी

कर्णाली प्रदेशका पहिलो चरणको अधिवेशन चलेका जिल्लाहरूमध्ये कालीकोटमा पनि नेतृत्व चयन हुन बाँकी छ। कालीकोटमा सर्वसम्मत् रूपमा नेतृत्व चयन हुन नसकेपछि चुनाव भइरहेको छ।

कालीकोटमा रमेश शाही र जसिप्रसाद पाण्डे जिल्ला अध्यक्षका उम्मेदवार छन्। कुल ७८२ मतदाता रहेको कालीकोटमा अहिलेसम्म करिब २ सय ५० जनाले मतदान गरिसकेको निर्वाचन समितिमा रहेका तुलाराम पाण्डेले सेतोपाटीलाई बताए।

दैलेख र कालीकोटबाहेक पहिलो चरणमा अधिवेशन भएका अरू ६ जिल्लामा नेतृत्व चयन भएको छ। सुर्खेत र जाजरकोटमा निर्वाचनबाट नेतृत्व चयन भएको हो भने सल्यान, रूकुम पश्चिम, डोल्पा र जुम्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सुर्खेतमा अमृत बिसी र जाजरकोटमा खिमबहादुर शाही अध्यक्ष बनेका छन्। यस्तै सल्यानमा गोविन्द पुन, रूकुम पश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत अध्यक्ष बनेका छन्।

यस्तै, पहिलो चरणमा अधिवेशन हुन नसकेका कर्णालीका जिल्लाहरूमध्ये मुगुमा २७ गतेदेखि अधिवेशन सुरू भएको थियो। मुगुमा सर्वसम्मत् नेतृत्व चयनको प्रयास भइरहेको छ। हुम्लामा भने माघ २३ गते अधिवेशन तय गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित