शुक्रबार जापानमा कोरोना भाइरसको दैनिक संक्रमण २० हजार माथि उक्लिएको छ । देशभरमा उक्त दिन २२ हजार ४५ जना संक्रमित थपिएका छन् । संक्रमण यो स्तरमा उक्लिएको यो गत वर्षको सेप्टेम्बर १ यता पहिलो पटक हो ।
नागानो, क्योटो, इहिमे र कुमामोता लगायत प्रिफेक्चरहरुमा दैनिक संक्रमणले कीर्तिमानी उचाई छोएको छ । बुधबार मात्रै दैनिक संक्रमण १० हजार नाघेको थियो । त्यसयता संक्रमण दिनँहु उच्च दरमा बढिरहेको छ । शुक्रबार कोभिडका कारण जापानभरमा ११ जनाको मृत्यु भएको छ ।
गम्भीर खालका बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ९६ जनाले बढेर २२१ मा पुगेको छ । राजधानी टोकियोमा संक्रमण गत वर्षको अगष्ट २७ यता पहिलो पटक दैनिक संक्रमण ४००० माथि पुगेको छ । शुक्रबारको संक्रमण चार हप्ता अघिको तुलनामा चौबर भएको बताइएको छ । टोकियोमा कोभिडका कारण उक्त दिन एक जनाको मृत्यु भएको छ ।