२०२२ को विन्टर ओलम्पिकका लागि चीनले विशेष तयारी गरिरहेको छ । विभिन्न विवाद र महामारीको कारण पनि चीनका लागि यो महत्वपूर्ण समारोह सोचेभन्दा धेरै नै चुनौतीपूर्ण सावित भएको देखिएकाे छ ।
चीनले मानव सम्पर्क सकेसम्म कम गराउने उद्देश्यले यतिबेला बेइजिङको ओलम्पिक भिलेजको क्यान्टिनमा खाना तयार गर्नेदेखि पस्किने सम्मका सबै काम रोबोटले गर्ने बताएको छ । यसमा भात, बर्गर, नुडल्स जस्ता खानेकुरा रोबोटिक शेफले नै पकाउनेछ ।
खेलको मिति नजिकिएसँगै चीनले खेलको अवधिभरि खेलाडीसहित मिडियालगायत अन्य सबै स्टाफ एउटा बन्द क्षेत्रमा सिमित रहनुपर्नेछ । यसमा उनीहरुले शारीरिक रुपमा बाहिरी दुनियाँको पहुँच पाउने छैनन् । निर्धारित परिसर बाहिरबाट खानेकुरा समेत डेलिभरि गर्न अुनमति नदिइने बताइएकाे छ ।
त्यसैगरी, ओलम्पिक भिलेजलाई सुरक्षित राख्न निरन्तर डिसइन्फेक्ट गर्नका लागि पनि रोबोटहरु खटाइने बताइएको छ । बेइजिङ विन्टर ओलम्पिक्स आगामी फेबरवरी ४ देखि २० सम्म हुनेछ ।