हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ ।
उक्त अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ । स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनार्इ एक महिनासम्म श्री स्वस्थानीको व्रत लिएपछि आफ्नो मनोकांक्ष्या पूरा भएको हुँदा श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको उल्लेख छ ।