चिनियाँ पत्रकारको नजरमा नेपाल’ को नेपाली संस्करण प्रकाशित
चिनियाँ पत्रकारको नजरमा नेपाल’ को नेपाली संस्करण प्रकाशित
    • बेल संचार

    • ४ माघ २०७८, मंगलवार

सिन्ह्वा समाचार संस्थाका वरिष्ठ पत्रकार चाउ शेङ्गपिङ्गद्वारा लिखित ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’को नेपाली संस्करण प्रकाशित भएकाे छ ।

एक दशकदेखि नेपालमा कार्यरत शेङ्गपिङ्गको यो पुस्तक २०२१ अप्रिलमा अंग्रेजी भाषामा प्रकाशित भएको थियो । नेपाल र चीनको सञ्चार माध्यममा आएका दर्जन बढी रिपोर्टाज अद्यावधिक गरी यसमा संकलित छ । पुस्तक राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरी पाँच अध्यायमा बाँडिएको छ । लेखकले चीनको बिआरआइ र अमेरिकाको एमसीसी सम्झौता जस्ता जल्दाबल्दा विषयवस्तु चीन, भारत र अमेरिकाबीच राखेर विश्लेषण गर्ने प्रयास गरेका छन् ।

‘के नेपाल सानो छ  ?’ शीर्षकको लेखमा अरुभन्दा नेपाल कम भ्रष्ट रहेको इंगित गरेका छन् । राजनीति अध्यायमा लेखकले नेपालमा बढ्दो राजनीतिक अस्थिरता, असफलताका कारणप्रति चासो व्यक्त गर्दै समाधानका उपायसमेत सुझाएका छन् ।

२०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको ऐतिहासिक नेपाल भ्रमणलगत्तै चीन–नेपाल सम्बन्ध रणनैतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षलाई पनि पुस्तकले समेटेको छ । लेखकको दृष्टिमा नेपालले चीन र भारतको उदयबाट लाभ प्राप्त गर्ने उच्च सम्भावना राख्दछ भने आफूलाई एक जीवन्त पुलको रूपमा रुपान्तरण गर्न सक्दछ ।

पुस्तकमा लेखक नेपालको रंगीबिरंगी सांस्कृतिक विविधता तथा प्राकृतिक सौन्दर्य अनि नेपाली जनताको सरलता र मित्रवत व्यवहारबाट मन्त्रमुग्ध हुन पुगेको विषयवस्तु पनि समेटेका छन् ।

पुस्तकबारे नेता झलनाथ खनालले आफ्नो प्रस्तावनामा लेखेका छन्, ‘यो पुस्तकलाई केवल चाउको मात्रै भन्दा पनि समग्र रूपमा चीनको सुझावको रूपमा हेरिनुपर्छ ।’

त्यस्तै, चीन अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष सुन्दर भट्टराईले चाउ शेङ्गपिङ्गको यो पुस्तक दुर्लभ भएको विचार व्यक्त गरेका छन् । जनता सञ्चार गृहले प्रकाशित गरेको पुस्तकको मूल्य  ३५० रुपैया रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित