जापान सरकारले कोरोना भाइरसको महामारीका कारण तीन प्रिफेक्चरमा लगाएको अर्ध–आपतकाल विस्तार गर्ने निर्णय गरेको छ । मंगलबार सम्बन्धित मन्त्रीहरुको एक बैठकमा टोकियो र अन्य १२ प्रिफेक्चरलाई कोभिडको बढ्दो संक्रमण नियन्त्रण गर्न अर्ध–आपतकाल लगाइने निर्णय भएको हो । यस निर्णयलाई बुधबार सरकारको कोरोना भाइरस नियन्त्रण गर्ने जिम्मा पाएको समितिको बैठकबाट औपचारिक रुपमा पारित गरिने छ । केन्द्र सरकारलाई टोकियो समेत निगाता, आइची, गुन्मा, साइतामा, चिबा, खानागावा, गिफु, मेई, खागावा, नागासाकी, कुमामोता र मियाजाकीले आपतकाल पूर्वको अवस्थामा राखिदिन निर्णय गरेका थिए ।
यस अघि नै जापानको ४७ ओटा प्रिफेक्चरमध्ये ओकिनावा, हिरोशिमा र यामागुचीलाई अर्ध–आपतकालीन चरणमा राखिएको थियो । अर्ध–आपतकाल घोषित प्रिफेक्चरका गभर्नरहरुले स्थानीय व्यवसायहरुलाई सञ्चालन अवधि कम गर्न लगायत अन्य अनुरोधहरु गरेको थियो ।