इण्डोनेसियाले राजधानी सार्ने निर्णय गरेको छ । हालको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा पूर्वी कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउने सम्बन्धि विधेयक त्यहाँको संसदले पारित गरेको हो ।
नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हुने जनाइएको छ ।
एक करोड मानिस बसोबास गर्दै आएको राजधानी जाकर्ता थामिनसक्नु भीड र प्रदुषणले अस्तब्यस्त बनेको भन्दै राष्ट्रपति जोको विदोदोको सरकारले दुई वर्ष अघि नै राजधानी सार्ने प्रस्ताव ल्याएको थियो ।
जाभा द्विपको दलदले भूमिमाथि रहेको राजधानी जाकर्ताको आधा भूभाग समुद्री सतह मुनि गईसकेको र हरेक वर्ष जाकर्ता २५ सेन्टीमिटरका दरले समुद्रमुनि गईरहेको छ । नयाँ राजधानीका लागि प्रस्ताव गरिएको क्षेत्र तुलनात्मक रुपमा कम विकसित भए पनि देशको मध्यभागमा पर्ने र प्राकृतिक प्रकोपको कम खतरा भएको रणनीतिक महत्वको ठाउँ भएको बताइएको छ ।
नयाँ राजधानी बनाउन साढे ३२ अर्ब डलर खर्च लाग्ने अनुमान पनि गरिएको छ । आलोचक र स्थानीय सरोकारवालाहरुले भने राजधानी बनेपछि कलिमन्थन प्रान्तको वातावरणीय तथा साँस्कृति क्षय हुने भन्दै राजधानी सार्ने निर्णयको आलोचना गरेका छन् ।