यस मितिमा हुने भो प्रतिनिधिसभा र स्थानीय चुनाव
यस मितिमा हुने भो प्रतिनिधिसभा र स्थानीय चुनाव
    • बेल संचार

    • १० माघ २०७८, सोमबार

अहिले सत्तारुढ दलहरुबीच मंसिरमै प्रतिनिधिसभा निर्वाचन गरेर माघ वा फागुनमा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको छ ।सत्तारुढ दलहरुले असोजमा स्थानीय तह निर्वाचन भएको मानेर छ महिनाभित्र चुनाव गर्ने र त्यतिञ्जेल कायम रहेका प्रतिनिधिले नै काम गर्ने गरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरेका छन् ।

अहिलेको तयारीअनुसार नै अघि बढे असोजमा स्थानीय तह निर्वाचन भएको मान्दा फागुनसम्म स्थानीय तह निर्वाचनका लागि म्याद बाँकी रहन्छ । त्यसो हुँदा सरकारले मंसिरमै प्रतिनिधिसभा निर्वाचन गराएर त्यसपछि स्थानीय तहको निर्वाचन गर्नसक्ने सत्तारुढ दलका एक नेताको भनाई छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ गठबन्धनका संयोजक रामचन्द्र पौडेल भने ठोस सहमति नभइसकेको बताउँछन् । “अहिले चुनाव कहिले र कसरी गराउने भनेर ठोस सहमति भइसकेको छैन, स्थानीय तहको निर्वाचन चरण–चरणमा गराउने कुरा अन्त्य गरेर सकेसम्म एकै चरणमा गर्नेगरी ऐन संशेधन गरेर अघि बढौँ भन्ने मात्र सहमति भएको छ,” पौडेलले भने, “एकै चरणमा तीनै तहको निर्वाचन गर्दा अर्थतन्त्रमा कम भार पर्छ भन्ने साझा बुझाई भए पनि निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा कुनै सहमति भइसकेको छैन ।”

उनले कांग्रेसले चाहिँ के तयारी गरेको छ भन्ने प्रश्नमा त्यस्तो कुनै तयारी भइनसकेको बताए । सत्तारुढ कांग्रेसका पार्टी सभापतिनिकट एक नेता भने मंसिरमा प्रतिनिधिसभा निर्वाचन गरेर संविधानको स्पिरिटअनुसार नै तल्ला तहको निर्वाचनको तयारी भएको बताए ।

“स्थानीय तह निर्वाचन असोजमा भएको मानेर त्यसको छ महिनाभित्र निर्वाचन गराउने विषयमा गठबन्धनका दलहरु करिब सहमतिमा पुगेको अवस्था हो,” ती नेताले भने, “अब प्रतिनिधिसभा निर्वाचन मंसिरमै गरेर माघभित्रै वा फागुनको पहिलो साताका लागि स्थानीय तह निर्वाचन घोषणा हुन सक्छ ।”

उनले पहिले पनि संघबाट निर्वाचन सुरु गरेर प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने तयारी भए पनि संविधानको स्वीकार्यतामै विवाद कायम रहँदा स्थानीय तहबाट निर्वाचन सुरु भएको बताए ।

“बाध्यात्मक अवस्थामा तीनै तहका निर्वाचन एकसाथ गर्नुपर्न अवस्था पनि आउन सक्छ, तर संविधानको स्पिरिट भनेको संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै निर्वाचन गर्ने हो,” ती नेताले भने, “यसपटक भने प्रदेशसभाको निर्वाचन मंसिरमा हुने प्रतिनिधिसभा वा माघ वा फागुनमा हुने स्थानीय तह निर्वाचनसँगै मिसिएर हुन्छ ।”

ती नेताका अनुसार कांग्रेस गठबन्धन जोगाएर निर्वाचनसम्म पुग्ने तयारीमा छ । “यो सरकार गठबन्धनको सरकार हो, एउटा पनि पार्टी अलग गरेर सरकारको निरन्तरता सम्भव छैन,” ती नेताले भने, “त्यसैले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले आगामी निर्वाचनसम्म छुट्टै निर्णय नगरी गठबन्धनको निर्णय नै अनुमोदन गरेर अघि बढ्छ ।”

साताकाे चर्चित
सम्बन्धित