देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।
आव २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा रु १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो । त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै रु ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् रु ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा १८५।७६ प्रतिशत बढी हो ।