काठमाडौं। इण्डियन प्रिमियर लिगको मेगा अक्सन हुनको लागि अब २ हप्ता मात्र समय बाँकी छ । यो लिगले युवा क्रिकेटरहरुको लागि ठूलो अवसरको ढोका समेत खोलिदिने गरेको छ । यस पटकको मेगा अक्सनमा नेपालका १५ खेलाडी समावेश छन् । यो लिगमा भुटानबाट पहिलो खेलाडी मेगा अक्सनमा सहभागी हुँदैछन् । मिक्यो दोर्जी आइपिएल मेगा अक्सनका लागि दर्ता हुने पहिलो भुटानी खेलाडी हुन् ।
मेगा अक्सन नजिकिँदै जाँदा मिक्यो दोर्जीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिएका छन् । र, यससँगै उनलाई चेन्नइ सुपरकिंग्सले किन्ने योजना बनाइरहेको छ कि भन्ने चर्चा पनि बढेको छ । मेगा अक्सनको ठिक अगाडि मिक्यो चेन्नइ पुगेका छन् र उनले चेन्नइ सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीसँग भेटेका छन् । उनले धोनीसँगको भेटको फोटो र भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् ।
धोनी पनि हालै चेन्नइ पुगेका हुन् र उनले टिमसँग मेगा अक्सनको तयारी गरेका छन् । यसका लागि अक्सनमा कुन कुन खेलाडीलाई टिममा लिने भन्ने विषयमा कप्तान धोनी र टिम प्रबन्धनबीच छलफल भइरहेको छ । यही समयमा मिक्योले धोनीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भेटमा धोनीले मिक्योलाई नतिजामा ध्यान नदिएर आफ्नो प्रक्रिया सही राख्न सुझाव दिएका छन् । धोनीले भनेका छन् ‘प्रक्रिया सही भयो भने नतिजा आफैं सही आउँछ ।’२२ वर्षका मिक्योअ फ्रेन्चाइजी लिग क्रिकेट खेल्ने पहिलो भुटानी क्रिकेटर हुन् । उनले नेपालमा एभरेष्ट प्रिमियर लिगमार्फत फ्रेन्चाइजी क्रिकेट खेलेका थिए । उनका अनुसार आइपिएलमा खेल्नु उनको लागि सपना जस्तै हुनेछ ।