विश्व स्वास्थ्य संगठनले नेपालसहितका मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको जनाएको छ ।
डब्ल्यूएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् । बीए.२ ले बीए.१ सब भेरियन्टलाई उछिन्न थालेको भए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या भने नबढेको उनको भनाई छ ।
विद्यमान खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध निकै राम्रो काम गरेको डब्ल्यूएचओले जनाएको छ । तर ओमिक्रोनको सब भेरियन्टले खोप लगाएका मानिसलाई समेत संक्रमण गर्न सक्ने भएकोले सजग रहन डब्ल्यूएचओले आग्रह गरेको छ ।