नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्याको ७०.७ प्रतिशतले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् । यस्तै, ८६.९ प्रतिशत नागरिकले कम्तिमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन नेपालले ७० प्रतिशत वयस्क जनसंख्यालाई पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ ।
डब्ल्यूएचओ नेपालले आज ट्वीटर मार्फत बधाई दिदै कोरोना विरुद्धको खोप अभियानमा नेपालले नयाँ कोशेढुङ्गा पार गरेको उल्लेख गरेको छ । नेपाल सरकारले चैतसम्म १८ वर्षमाथिका सम्पुर्ण नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।