भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचरात रहनुभएका लताको आइतवार बिहान निधन भएको हो । कोरोना र निमोनियाबाट पीडित उहाँको २९ दिनदेखि अस्पतालमा उपचार भैरहेको थियो ।
उहाँको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । ९२ वर्षीया लताले ८ दशक सांगीतिक करियरका क्रममा विभिन्न ३६ भाषाका ५० हजार बढी गीत गाइसक्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँले केही नेपाली गीतहरु पनि गाउनुभएको छ ।
सन् २००१ मा उहाँलाई भारतको सबैभन्दा प्रतिष्ठित विभुषण भारत रत्नबाट सम्मानित गरिएको थियो । उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी भैरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।