तोडियो राजेन्द्र लिङ्देन र कमल थापा बीचको संवादहीनता
तोडियो राजेन्द्र लिङ्देन र कमल थापा बीचको संवादहीनता

निवर्तमान अध्यक्ष थापाले महाधिवेशनमा निर्मल निवासले आफूलाई हराएको र त्यसबारे छानबिन हुनुपर्ने माग राखिराखेका थिए।

    • बेल संचार

    • २३ माघ २०७८, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष कमल थापा बीचको संवादहीनता तोडिएको छ।

गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबीच अध्यक्ष लिङ्देन र निवर्तमान अध्यक्ष थापाबीच भेटघाट तथा संवाद हुन सकेको थिएन।

निवर्तमान अध्यक्ष थापाले महाधिवेशनमा निर्मल निवासले आफूलाई हराएको र त्यसबारे छानबिन हुनुपर्ने माग राखिराखेका थिए। तर, दुई शीर्ष नेताबीच शनिबार बिहान भेट भएपछि संवादहीनता अन्त्य भएको नेताहरूले बताएका छन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार थापालाई भेट्न लिङ्देन बिहान ११ बजे उनको निवास बुढानिलकण्ठ पुगेका थिए। त्यहाँ दुई बीच एक घन्टा छलफल भएको थियो।

‘निवर्तमान अध्यक्षले वर्तमान अध्यक्षलाई औपचारिक रूपमा भेट गरेर बधाई तथा शुभकामना दिनुभएको थिएन, महाधिवेशनपछि उहाँहरूबीच हिजो भेट भएपछि शुभकामनासँगै संवाद अघि बढेको छ,’ श्रेष्ठले सेतोपाटीसँग भने।

थापाले अध्यक्ष लिङ्देनलाई महाधिवेशनलगत्तै र एक साताअघि गरेर दुई पटक चिठी लेखेका थिए। चिठीमा महाधिवेशनका क्रममा निर्मल निवासले खेलेको भूमिकामाथि छानबिन गर्न माग गरेका थिए।

‘भेटमा स्वाभाविक रूपमा ती विषयमा छलफल भएको छ, अर्कोपटक भेटेर कुरा गर्ने सहमति बनेको छ,’ श्रेष्ठले भने।

थापासँग भेटपछि आइतबार पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवम् विभागीय प्रमुखहरूको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रम भएको थियो। त्यहाँ बोल्दै अध्यक्ष लिङ्देनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताएका थिए।

‘देशले राप्रपाको आवश्यकता महसुस गरिरहेको, पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ,’ अध्यक्ष लिङ्देनले भने, ‘सानातिना विषयमा नअल्झौं, बृहत् राप्रपा निर्माणमा जुटौं।’

यसकै प्रयासस्वरूप निवर्तमान अध्यक्ष थापासँग भेटघाट, छलफल भएको, छलफल सकारात्मक रहेको र संवाद जारी रहने सहमति भएको उनले बताए।

थापाले निर्मल निवासबारे छानबिन गर्न माग गरे पनि अध्यक्ष लिङ्देनले त्यसबारे अहिलेसम्म चासो राखेका छैनन्। लिङ्देनले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमै हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई प्रतिकूल हुने गरी कुनै छलफल तथा बहस नहुने बताएका थिए।

‘धेरै लामो समयपछि हामीबीच भेटघाट सुरू भएको छ। हामी पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई सकारात्मक सन्देश दिन चाहन्छौं,’ भेटबारे लिङ्देनले सेतोपाटीसँग भने, ‘हामी मिल्नुपर्छ भन्ने बाटोमा लागेका छौं, फेरि भेट गर्छौं।’

साताकाे चर्चित
सम्बन्धित