चालु आर्थिक वर्षको छ महिनामा विदेशबाट नेपालीहरुले पठाउने रेमिट्यान्स घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा रेमिट्यान्स ५.५ प्रतिशतले घटेर चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ। यो बैंकिङ च्यानलबाट वैधानिक रुपमा आएको रकम हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स ६.२ प्रतिशतले घटेर तीन अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्यरूपमा वृद्धि भइ एक लाख ६७ हजार ५१३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले बढेर एक लाख ३० हजार २१२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आइ पाँच खर्ब २३ अर्ब एक करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो।