एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ: प्रवक्ता महत
एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ: प्रवक्ता महत

उनले नेपालमा सबै राजनीतिक दलहरू यसको समर्थनमा रहेका र हुनुपर्ने बताए।

    • बेल संचार

    • २८ माघ २०७८, शुक्रबार

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताएका छन्।

उनी नेपाली कांग्रेसको प्रवक्ता मनोयन भएकोमा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको कार्यक्रममा  महतले यो परियोजना जतिसक्दो चाँडै संसदमा पेस गरी पारित गर्नुपर्नेमा जोड दिए।

प्रवक्ता महतले पछिल्लो एक वर्षमा एमसिसीलाई गिजोल्ने काम मात्र भएको टिप्पणी गरे।

उनले नेपालमा सबै राजनीतिक दलहरू यसको समर्थनमा रहेका र हुनुपर्ने बताए।

उनको भनाइ थियो, ‘अहिले विरोधमा रहेका यहाँका कतिपय दल र तिनका नेताहरूको पनि एमसिसीमा सहभागिता र समर्थन रहेको थियो। तर दुःखद् कुरा के छ भने पछिल्लो एक वर्षदेखि उनीहरूले नै एमसिसीलाई गिजोल्ने काम गरेका छन्। भ्रम फैलाउने गरी प्रचार गरिएको छ, यो दुर्भाग्य हो।’

यो आयोजना नेपालकै प्राथमिकताका आधारमा अमेरिकाले तय गरेको र निःशुल्क सहयोग परियोजना भएकाले यो अनुदान फिर्ता गर्न नहुने पनि स्पष्ट पारे।

यो कुनै इन्डोप्यासिफिक रणनीति तथा सैन्य परियोजना नभएर नेपालकै कानुनअनुसार सञ्चालन हुने र नेपालको चाहनाअनुसार नै आएको स्पष्ट पारे।

प्रवक्ता महतले देशका जिम्मेवार राजनीतिक दलले नै एमसिसीको विरोध गर्नु दुर्भाग्य भएको बताए।

उनले भने, ‘नेपालले आफ्नै प्राथमिकतामा छानेको परियोजनाको अहिले पास गर्ने बेलामा आएर विरोध गर्नु, अनावश्यक रूपमा भ्रम छर्ने काम गर्नु दुःखद् हो।’

राष्ट्रिय मुद्दाका महत्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको भन्दै महतले हिजो अरूण तेस्रो जलविद्युत आयोजना कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा त्यसमा पनि राष्ट्रघात देख्नेहरूले पछि सो आयोजनाको आवश्यकता देखेको भन्दै अहिले एमसिसीमा पनि त्यस्तै भ्रम छर्ने काम गरेको बताए।

संसदमा दर्ता भइसकेको प्रस्ताव संसदमा पेस गर्नु सभामुखको दायित्व भएको पनि उनले स्पष्ट पारे।

उनले भने,‘सभामुखले संसदमा टेबल गर्नुपर्छ र प्रक्रिया अगाडि बढाउनुपर्छ। सरकारले दर्ता गरेको प्रस्ताव सदनमा अगाडि बढाउनु सभामुखको दायित्व हो। सदनमा बुँदागत छलफल हुन्छ। दूधको दूध पानीको पानी छुट्टिन्छ।’

एमसिसीका बारेमा कुनै भ्रम नरहेको र हाम्रा जिज्ञासाका बारेमा एमसिसीले नै प्रष्ट पारिसकेको भन्दै प्रवक्ता महतले देशअनुसारको विदेश नीति नभई यस्ता संवेदनशील मुद्दामा राष्ट्रिय सहमति हुनु जरूरी रहेको बताए।

साताकाे चर्चित
सम्बन्धित