प्रचण्ड र माधव नेपाललाई ‘कामरेड’ भन्न मिल्दैन : केपी ओली
प्रचण्ड र माधव नेपाललाई ‘कामरेड’ भन्न मिल्दैन : केपी ओली
    • बेल संचार

    • २९ माघ २०७८, शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने तर्क गर्नुभएको हो ।

हीजो शुक्रवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई पार्टीमा स्वागत गर्दै उहाँले दाहाल र नेपालप्रति कटाक्ष गर्दै कांग्रेसले हात नदिए हिँड्न नसक्नेहरूलाई वामपन्थी भन्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय मान्छेहरू भुलबसले प्रचण्ड कामरेड, माधव कामरेड भन्छन् । के का कामरेड नि ? शेरबहादुर देउवाभन्दा अगाडि–अगाडि शेरबहादुर देउवाको ढोकामा पस्न नपाए पनि यिनीहरू ढोकामा त बसेका छन् नि । भित्र जाँदा शेरबहादुर के गर्दैछन्, पछि हेरौँला । कामरेड–सामरेड सबै गुटमुट्याएर एकै ठाउँ राखी दिनुपर्छ आउँदाे चुनावदेखि ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक कांग्रेस नेताहरूले चुनावमा गठबन्धन नगर्ने भन्दा पनि दाहाल–नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको पनि बताउनुभयो ।

त्यस अवसरमा ओलीले सही पार्टी छनाेट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गर्नुभएको थियो । ढकालले भने ‘देशभक्त’ नेता ओली भएकाले आफूहरू पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताउनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित