आवेग र प्रतिशोधमा पार्टीले निर्णय नगर्ने ,एमाले संसदीय दलको बैठक सकियो
आवेग र प्रतिशोधमा पार्टीले निर्णय नगर्ने ,एमाले संसदीय दलको बैठक सकियो

अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्ने बताए।

    • बेल संचार

    • २ फाल्गुन २०७८, सोमबार

आवेग र प्रतिशोधमा निर्णय नगर्ने नेकपा एमाले संसदीय दलको बैठकले निर्णय गरेको छ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको निष्कर्ष निकाल्दै एमालेले आवेगमा आएर प्रतिशोध नसाध्ने निर्णय गरेको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजे पनि एमाले नेतृत्वले यसबारे सोच विचार गरेर मात्र निर्णय लिने बताएका हुन्।

अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्ने बताए।

‘एमाले जिम्मेवार पार्टी हो । त्यसैले यसले जिम्मेवारपूर्ण कदम चाल्नुपर्छ। आवेश र उत्तेजनामा आएर कुनै निर्णय गर्दैन’, बैठकमा ओलीले भनेका थिए।

उनले आवश्यकता अनुसार पार्टी नेतृत्वले निर्णय लिनेसमेत जानकारी गराए।

बैठकमा नेता भीम रावलले एमसिसीको विषयमा पार्टीमा छलफल गर्ने राखेको प्रस्ताव अध्यक्ष ओलीले पछि गरौंला भन्दै टारेका थिए।

बैठकमा बोल्ने अधिकांशले चुनावको मुखमा आएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोक्न नहुने भनाई राखेका थिए।

जवाफमा ओलीले आफू पनि राणालाई साथ दिने पक्षमा नरहेको जिकिर गरेका थिए।

ओलीको भनाइ उधृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अहिले चोलेन्द्रविरुद्ध महाभियोग खासगरी निर्वाचनलाई जसरी पनि सार्न टार्न खोज्ने षडयन्त्र र एमसिसी जसरी पनि पारित गर्ने, लोकतन्त्रविरुद्ध निरन्तर हमला गर्ने प्रवृत्तिबाट आएको हो। महाभियोग व्यक्तिगत रूपमा कसैलाई लगाउन ल्याइएको होइन,  उहाँलाई जोगाउने मनशाय छैन। उहाँमा अनगिन्ती कमजोरी देखिएका छन्। परमादेश जारी उहाँकै नेतृत्वमा भएको थियो।’

बैठकमा सहभागी सबै सांसदको हस्ताक्षर भने पार्टीले संकलन गरेर रेखको छ।

सचेतक भट्टराईले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाको विरूद्धमा दर्ता भएको महाभियोगको बारेमा पार्टीले आवश्यकताका आधारमा निर्णय लिन हस्ताक्षर शंकलन गरेको राखेको बताए।

बैठकबारे जानकारी गराउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यसको म्याण्डेट उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए ।

एमालेले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर आएका समाचारहरू पूर्वअनुमान मात्रै भएको भट्टराईले बताए।

‘वस्तुस्थितिको ठोस अध्ययन गरेर ठोस निर्णय आओस् भन्ने सुझाव सांसदहरुको आएको छ। पार्टी अध्यक्षले नेतृत्व बसेर यथोचित निर्णय लिन्छौं भन्नुभयो यसका लागि हामीले हस्ताक्षर संकलन गरेर राखेका छौ।’

साताकाे चर्चित
सम्बन्धित