सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

‘हामी आरोपितलाई खोजी रहेका छौं,’ उनले भने, ‘प्रहरीले फेला पार्ना साथ नियन्त्रणमा लिन्छ।

    • बेल संचार

    • ४ फाल्गुन २०७८, बुधबार

नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले सेतोपाटीलाई बताए।

‘पीडित महिलाको जाहेरीका आधारमा बानियाँविरूद्ध सोमबार नै पक्राउ पुर्जी जारी गरेका हौं,’ डिएसपी न्यौपानेले भने,‘आरोपित बानियाँलाई खोजी कार्य जारी छ।’

उनीविरूद्ध पक्राउ पुर्जी जारी भए त्यसबारे सदनमा जानकारी दिनुपर्ने प्रावधान रहे बमोजिम सभामुख तथा सदनलाई समेत जानकारी दिइएको प्रवक्ता न्यौपानले बताए।

‘हामी आरोपितलाई खोजी रहेका छौं,’ उनले भने, ‘प्रहरीले फेला पार्ना साथ नियन्त्रणमा लिन्छ।’

ती शिक्षिकाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्री समेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन छन्।

यसअघि सेतोपाटीसँग फोनमा कुरा गर्दा एमाले नेता बानियाँले आफू निर्दोष रहेको तथा आफूलाई फसाउने षड्यन्त्र भइरहेको दाबी गरेका थिए।

उनले ती महिलाले आफूलाई पैसाको बार्गेनिङ गरेर मुद्दा लगाई फसाउने खोजेको आरोप बानियाँले लगाएका थिए।

पीडित शिक्षिकाले दिएको जाहेरीमा आफूले सापटी दिएको २५ लाख रुपैयाँ लिन होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको उल्लेख छ।

त्यसबारे नेता बानियाँले त्यो सबै झुट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित