कमल थापाको राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने
कमल थापाको राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताए।

    • बेल संचार

    • ५ फाल्गुन २०७८, बिहीबार

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन्।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताए।

भ्रातृ संगठनहरूको संयुक्त बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको बताए।

उनले जिम्मेवार भनिएका राजनीतिक दलहरूले उनीहरूलाई सहयोग पुग्नेगरी निर्वाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्ने बताए।

पार्टीलाई ठूलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुन:स्थापनाको मुद्दालाई मात्र अगाडि सारेर हिन्दु राष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई समेत ओझेल पार्ने काम भएकोले उनले बताए।

त्यही कारण राप्रपा नेपाललाई ब्यूँताउन बाध्य भएको बताउँदै थापाले अब राप्रपा नेपालले रणनीतिक रूपमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर अघि बढ्ने बताए।

सनातनदेखि चलिआएको धर्म परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने सम्बर्द्धनवादको सिद्धान्त अबलम्बन गरी पार्टीको दायरा फराकिलो पार्ने उनले बताए।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष ममता राई, राष्ट्रिय प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष दामोदर वाग्ले, पूर्वप्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, विद्यार्थी संगठनका अध्यक्ष शशी भण्डारी, सनातन धर्म संस्कृति संगठनका सुजन अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनकी उपाध्यक्ष सरला विकलगायतले बोलेका थिए।

राप्रपा नेपालले फागुन ७ गते राष्ट्रिय सभागृहमा पार्टीको औपचारिक घोषणा सभा राखेको छ। घोषणा सभालगत्तै देशव्यापी संगठन निर्माणमा जुट्दै स्थानीय निर्वाचनको तयारीमा लाग्ने राप्रपा नेपालले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित