सी अफ जापानको तटमा रहेका जापानी क्षेत्रहरुमा बिहिबार भारी हिमपात भएको छ । निगाता र होकुरिकु क्षेत्रमा वर्षको यो समयमा सामान्यतः पर्ने भन्दा निकै धेरै हिउँ परेको छ । सी अफ जापानमाथि रहेको न्यून चापीय प्रणाली र चिसो वायुको थुप्रोका कारण तोहोकुदेखि सानिन क्षेत्रसम्मै भारी हिमपात भइरहेको जापानको मौसम विभागले बताएको छ ।
हिमपात विशेषगरी हिमाली क्षेत्रहरुमा तीव्र छ । बिहिबार साँझ ५ बजेसम्मको तीन घन्टामा मात्रै शिमाने प्रिफेक्चरको ओकुइजिमा शहरमा १३ सेमी हिउँ परेको छ । क्योटोको नान्तान नगरमा पनि १२ सेमी हिउँ जम्मा भएको छ । बिहिबार साँझ ५ बजेसम्ममा गिफुको शिराकावा गाउँमा हिउँ थुपिएर २ दशमलव १९ मिटर पुगिसकेको छ ।
ह्योगो प्रिफेक्चरको कामी नगरमा १ दशमलव ५९ मिटर हिउँ थुप्रिएको छ । फुकुई प्रिफेक्चरको ओनो र निगाता प्रिफेक्चरको आगा शहरमा पनि सो समयसम्म क्रमशः १ दशमलव २२ मिटर र १ दशमलव २५ मिटर हिउँ थुप्रिएको छ । न्यून चापीय प्रणाली शुक्रबारसम्ममा विस्तारै निगाता प्रिफेक्चर र तोहोकु क्षेत्रको दक्षिणी भेगमाथि आइपुग्ने मौसम विभागले बताएको छ ।
होकुरिकु, उत्ररी कान्तो र तोहोकु क्षेत्रका कयौं स्थानका साथै निगाता र गिफु प्रिफेक्चरमा शुक्रबारसम्मै भारी हिमपात पर्न सक्ने अनुमान गरिएको छ । शुक्रबार साँझ सम्मको २४ घन्टामा तोहोकु क्षेत्रमा ७० सेमीसम्म हिउँ पर्ने अनुमान विभागको छ । निगाता र उत्तरी कान्तो क्षेत्रमा ६० सेमी, किन्की क्षेत्रमा ५० सेमी र होकुरिकु र गिफुमा पनि ४० सेमीसम्म हिउँ पर्ने भविष्यवाणी विभागले गरेको छ ।मौसम अधिकारीहरुले चालकहरुलाई सडकमै अलपत्र पर्ने अवस्था प्रति सतर्क रहन भनेका छन् । सवारी साधनमा विन्टर टायर वा टायर चेन राख्न भनिएको छ । बासिन्दाहरुलाई पनि हिम पहिरो, छानाबाट पहिरो खस्ने वा बिजुली काटिन सक्ने अवस्थाप्रपत सतर्क रहन सुझाव दिइएको छ ।