हाते होजियारी तालिमबाट आत्मनिर्भर बन्दै जुम्ली महिला
हाते होजियारी तालिमबाट आत्मनिर्भर बन्दै जुम्ली महिला

सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सीप सिक्नमै व्यस्त हुनुहुन्छ

    • बेल संचार

    • ९ फाल्गुन २०७८, सोमबार

खलङ्गा, ९ फागुन

जुम्लाको तातोपानी गाउँपालिका– ६ का महिला हाते होजियारी तालिमबाट आत्मनिर्भर हुन थालेका छन् । सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सीप सिक्नमै व्यस्त हुनुहुन्छ । बिहान र बेलुकी स्वीटर, हाइनेकदेखि अन्य कपडा बुन्नमै समय बिताउनुहुने उहाँ अहिले महिला, पुरुष र बालबालिकाका लागि कपडा बुन्न सक्ने हुनुभएको छ ।

गाउँमै गाउँपालिकाले छ महिने सीपमूलक तालिम दिएपछि अहिले काम गर्न सहज भएको तिलनदेवीेले बताउनुभयो ।सात कक्षा पढ्दा पढ्दै स्कुल छाड्नु भएकी हियाखोलाकै पार्वती कामीले पनि अशिक्षित महिलालाई होजियारीको सीप दिन थालेपछि अहिले विभिन्न कपडा बुन्न थाल्नु भएको छ । हाते होजियारी उद्योगले गर्दा यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्न थालेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिनुभयो । अहिलेसम्म यहाँका बासिन्दाले सरकारी काम पाउन सकेका छैनन् ।

यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला नै हो । उहाँले भन्नुभयो,“अब रोजगारी सिर्जना गर्नका लागि गाउँमै हाते होजियारी उद्योग स्थापान गर्न लागिपरेको छु । यो वडा कार्यालयले बेरोजगारीलाई रोजगारी दिनका लागि विभिन्न विकल्प अवलम्बन गरेको वडाध्यक्ष खड्काले बताउनुभयो । नगरपालिकाको टोल शिक्षा कार्यक्रम कोरोनाले शिक्षण सिकाइमा असर पारेपछि चन्दननाथ नगरपालिकाले दशवटै वडाका टोल–टोलमा ४५ शिक्षक÷शिक्षिकामार्फत टोल शिक्षा कार्यक्रममार्फत पठनपाठन सञ्चालन गर्न थालेको छ ।युनिसेफ नेपालको सहयोग र चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा उक्त कार्यक्रम सचालन गरिएको हो ।

अभिभावकको सहयोगमा बालबालिकाले घरमै पढाउन सकिने सिकाईका क्रियाकलापसहित पुस्तकसमेत उपलब्ध गराएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खडानन्द चौलागाईंले बताउनुभयो । कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर पढाइ सुरु गरिएको हो । टोलमा पुग्ने शिक्षक–शिक्षिका तथा विद्यार्थीका लागि मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गराइएको छ ।

पढाइ हुने समयमा कोरोनाले गर्दा विद्यालय बन्द भएका बेला घरमै बसेका बालबालिकाको पढाइमा सहयोग गर्ने उद्देश्यले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठनपाठनलाई अघि बढाइएको उहाँको भनाइ थियो । टोलमा पुग्ने विषय शिक्षकले सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा भेला गरेर आ–आफ्ना विषयको पठनपाठन गराइरहेका हुन् । नगरपालिकाभित्रका प्रत्येक टोलमा सञ्चालन भएका टोल शिक्षाको अनुगमनसमेत हुने गरेको जनाइएको छ ।

सडक नाटकमार्फत विद्यार्थी भर्ना चन्दननाथ नगरपालिकाले सडक नाटकमार्र्फत विद्यार्थी भर्ना अभियान सञ्चालन छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खडानन्द चौलागार्इंले फागुन २० गतेसम्म वडामै सडक नाटकमार्फत विद्यार्थी भर्ना अभियान चलाइएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा बालबालिकालाई भर्ना गराऔँ भन्दै सडक नाटक देखाइएको नगरपालिको शिक्षा शाखाले जनाएको छ । सडक नाटकमा विशेषगरी विद्यालयको नयाँ भर्ना अभियान, पढाइको महत्व, सामुदायिक विद्यालय कमजोर हुनाको कारणलगायत विषय समेटिएको बताइएको छ ।विजय रावत

साताकाे चर्चित
सम्बन्धित