हुम्ला समाचार ः बिहानदेखि हिमपात   
  हुम्ला समाचार ः बिहानदेखि हिमपात   

नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ ।

    • बेल संचार

    • ११ फाल्गुन २०७८, बुधबार

हुम्ला,
हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भन्नुभयो “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।”

यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ । हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ । ”

एमाले जिल्ला अधिवेशन बन्द सत्र सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । उक्त बन्द सत्रमा कार्यवाहक अध्यक्ष ज्ञामी बुमीले पार्टी प्रतिवेदन प्रस्तुत गर्नुहुने जनाइएको छ । बन्दसत्रमा ३५० सहभागीले भाग लिने पार्टी सचिव पूर्णप्रसाद ढकालले जानकारी दिनुभयो । एमाले कर्णाली प्रदेशका इन्चार्ज गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल बन्द सत्र उपस्थिति रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित