पर्वत पुगेर अर्थमन्त्री शर्माले भने– ढुक्क हुनुस्, एमसिसी पास हुन दिन्नौं
पर्वत पुगेर अर्थमन्त्री शर्माले भने– ढुक्क हुनुस्, एमसिसी पास हुन दिन्नौं

बिरामी भएकै कारण गत आइतबार शर्मा संसदमा उपस्थित भएनन्। संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदमा पेश गरे। 

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबल गर्ने बेला अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बिरामी परे। बिरामी भएकै कारण गत आइतबार शर्मा संसदमा उपस्थित भएनन्। संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदमा पेश गरे।

संसदको बिहिबार बस्ने बैठकमा अर्थमन्त्री शर्माले एमसिसी छलफलका लागि पेश गर्ने कार्यसुची संसद सचिवालयले प्रकाशन गरेको थियो। तर बिहिबार पनि उनी संसदमा गयल हुने भएका छन्। संसद छल्नकै लागि अर्थमन्त्री शर्मा पर्वत पुगेका छन्।

बुधबार साँझ नै पर्वत पुगेका शर्माले बिहिबार बिहान बागलुङको निर्माणाधीन बलेवा विमानस्थलको अवलोकन गरे। नेकपा माओवादी केन्द्र कुश्माका अध्यक्ष शंकर गिरीका अनुसार शर्माले पर्वतका विभिन्न पर्यटकीय सम्भावनाको अवलोकन गरेका छन्।

बलेवा विमानस्थल अवलोकन पश्चात अर्थमन्त्री शर्माले पर्वतको गुप्तेश्वर गुफा अवलोकन गरे। कुश्मामा सञ्चालित बन्जी जम्प हेरेर ‘स्काई चियर’ मा गएर बसे।

माओवादी कुश्माका अध्यक्ष गिरीका अनुसार व्यवसायीले पर्यटकीय सम्भावना अवलोकन गरिदिनुपर्‍यो भनेपछि शर्मा पर्वतका विभिन्न ठाउँ घुमेको थिए। उनले पर्वत जिल्ला अस्पतालको समेत अवलोकन गरेका छन्।

शर्मा पर्वत जानुको उदेश्य अर्के भएको गिरीले बताए। उनका अनुसार पर्वत उद्योग वाणिज्य संघको ११ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी पर्वत गएका हुन्।

कुस्माको ‘स्काई चियर’मा बसेर खाना खाँदै अर्थमन्त्री। मा

‘अर्थमन्त्रीज्यूको एक महिना अघि ठोस भएको कार्यक्रममा भाग लिन आउनुभएको हो, संसद छल्नुभएको होइन,’ गिरीले भने, ‘यहाँ आएको बेला समयको सदुपयोग गरौं भनेर पर्यटकीय सम्भावनाको अवलोकन गर्नुभयो।’

अर्थ मन्त्रालय मातहत रहेको एमसिसी परियोजनाबारे संसदमा छलफल हापेर अर्थमन्त्री नै अन्यत्र हिड्नु गलत भएको भन्दै शर्माको आलोचना भइरहेको छ। संसद बैठक चलिञ्जेल शर्मा पर्वतमै रहने माओवादीका स्थानीय कार्यकर्ताहरुले बताएका छन्।

अर्थमन्त्री शर्माले भने एमसिसी संसदीय प्रक्रियामा प्रवेश गरेकाले प्रक्रियाबाटै टुंगो लाग्ने बताएका छन्। माओवादी कुश्माका अध्यक्ष गिरीले कार्यकर्ता भेटघाटमा शर्माले उक्त कुरा बताएको जानकारी दिए।

माओवादी पर्वतका जिल्ला संयोजक सुदीप कुँवरका अनुसार अर्थमन्त्री शर्माले एमसिसी संसदबाट पास हुन नसक्ने बताएका छन्। कार्यकर्ता भेटघाटमा शर्माले अहिलेको स्थितिमा एमसिसी पारित हुन नसक्ने बताए।

‘संसदबाट एमसिसी पारित हुँदैन,’ शर्माको भनाई उदृत गर्दै कुँवरले सेतोपाटीसँग भने, ‘तपाईँहरू ढुक्क हुनुस्, जनताको भावना विपरित एमसिसी पास हुन दिन्नौं।’

अर्थमन्त्री शर्माको यस्तो गतिविविधि गैरराजनीतिक भएको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले प्रतिक्रिया दिए।

एमसिसी सदनमा छलफल गरेर पारित गर्नुपर्नेमा संवन्धित मन्त्री नै संसद छलेर हिँड्नु गलत प्रवृत्ती भएको उनले बताए।

‘सत्तामा एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्ने त उहाँहरुको प्रवृत्ती नै हो,’ सभापति शर्माले भने, ‘राजनीति हिजो पनि थियो, भोलि पनि रहन्छ, जनतालाई सधैं भ्रममा राख्न सकिँदैन भनेर उहाँहरुले बुझ्नुपर्छ।’

साताकाे चर्चित
सम्बन्धित