बिहीबार साँझदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीमा हलचल
बिहीबार साँझदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीमा हलचल

एमसिसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्य सम्भावना तत्काल छैन भन्ने ठानेका यी दुई पार्टीलाई हिजोका छलफलले तरंगित पारेका हुन।

    • बेल संचार

    • १३ फाल्गुन २०७८, शुक्रबार

बिहीबार साँझ नेकपा (एमाले)सँग नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू गरेको छलफलपछि माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीभित्र हलचल सुरू भएको छ।

एमसिसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्य सम्भावना तत्काल छैन भन्ने ठानेका यी दुई पार्टीलाई हिजोका छलफलले तरंगित पारेका हुन।

बिहीबार बानेश्वर र बालुवाटारमा भएका बैठकपछि प्रधानमन्त्री देउवाले एमालेसँग मिहीन छलफल गरिरहेको र अब राजनीतिक कोर्स आफूहरूको विपक्षमा जान सक्ने ठानेर दुबै पार्टी गठबन्धन जोगाउने कुनै बाटो निकाल्नु पर्ने निष्कर्षमा पुगेका हुन्।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुबै पार्टीका नेताबीच छलफल भएको थियो। त्यही छलफलमा एमाले अध्यक्ष ओलीले राखेको धारणाले माओवादी केन्द्र झस्किएको छ। माओवादी केन्द्रका नेताहरूलाई ओलीले आफ्नो पार्टीले बर्खास्तका लागि सिफारिस गरेका १४ सांसदको सूचना टाँस्नुपर्ने अडान राखेका थिए। त्यति गर्न नसके सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने पुरानो सर्त पनि उनले दोहोर्‍याए। त्यसपछि मात्रै एमसिसीबारे पार्टीले निर्णय लिने ओलीले बताए।

सोही छलफलमा ओलीले आफू एमसिसीको विपक्षमा नरहेको प्रष्ट संकेत पनि दिए। माओवादी नेताहरूले एमसिसीको विपक्षमा मतदान गर्नुपर्ने धारणा राख्दा ‌ओलीले एमसिसी राष्ट्रघाती नभएको तर्क गरेका थिए।

ओलीले नेकपाकालीन अवस्थाको समेत माओवादीलाई स्मरण गराए। २०७७ कात्तिकमा आफूविरूद्ध ल्याइएको १० बुँदे प्रस्ताव फिर्ता लिनुपर्ने सर्त पनि ओलीले राखेका थिए। ओलीले यसलाई १९ बुँदे आरोप पत्र भन्दै आएका छन्।

एमालेसँग नभेट्दासम्म माओवादी केन्द्रले कांग्रेस र एमालेको सहकार्य हुनसक्ने विषयलाई हल्का रूपमा लिएको थियो।

जब माओवादी नेताहरूले ओलीसँग भेटे त्यसपछि भने उनीहरू झस्किएका छन्।

एमालेका मागलाई सम्बोधन गर्न सकारात्मक हुन सकिने भनेर कांग्रेस नेताहरूले भनेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) झनै सशंकित बनेको छ। एमालेको अडानलाई कांग्रेसले साथ दियो भने आफ्नो पार्टी नरहन सक्ने चिन्ता एकीकृत समाजावादीका नेतामा छ।

बिहीबार मात्रै एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठक दुई-दुई पटक बस्नु र आफूहरूसँगको भेटमा एमाले नेताहरू लचिलो नबन्ने संकेत पाएपछि माओवादीले आफ्नो अडान पुनर्विचार गर्न मिल्ने ठाउँ खोजेको स्रोतले बतायो।

‘बिहीबारको बैठकपछि माओवादी नेताहरूले अहिले नै एमालेसँग गठबन्धनको निर्णय नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन्,’ स्रोतले भन्यो,’एमसिसी पारिमार्जनको कुनै बाटो खोज्न सकिन्छ कि भनेर माओवादी केन्द्रमा छलफल सुरू भइसकेको छ।’

शुक्रबार बिहान माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठकले एमसिसी परिमार्जन सहित पारित गर्नका लागि पहल गर्ने र गठबन्धनपनि नतोडिने बाटो खोज्ने निर्णय गरेको छ।

‘अहिले जनमत एमसिसीको विपक्षमा छ। यस्तो बेलामा एमसिसी संशोधन नगरी पारित गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट अडान छ,’ बैठकपछि माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘सत्ता गठबन्धन अहिलेको आवश्यकता हो। प्रतिगमनका विरूद्धमा बनेको यो गठबन्धन कायम राख्न अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ।’

अर्का एक माओवादी नेताले एमसिसी पनि पास हुने र गठबन्धन पनि जोगाउने कुनै बाटो निकाल्ने प्रयास भइरहेको बताए।

‘प्रधानमन्त्री त जसरी पनि एमसिसी पास गरेरै जानेमै कटिवद्ध देखिनुभयो। त्यसका लागि गठबन्धन भत्किने अवस्था आयो,’ ती नेताले भने,‘बीचको कुनै बाटो खोज्न सकिन्छ भने छलफल गरौं भन्ने छ।’

माओवादीभित्र एमसिसीबारे फरक-फरक धार देखिन्छ। एमसिसीलाई संसदबाट असफल गराएर फिर्ता पठाउनुपर्ने धारणा राख्ने नेता पनि माओवादीमा छन् भने धेरै नेताहरू परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन्। परिमार्जन नभए पनि एमसिसी पारित गर्नुपर्ने धारणा राख्ने नेता पनि माओवादीमा छन्। एमसिसी सम्झौता गर्दासम्मको विभिन्न प्रक्रियामा आफ्नै पार्टीका नेताहरू समेत सहभागी भएकाले एमसिसी पारित गर्नुपर्ने आवाज पनि माओवादीभित्र उठेको छ। यद्यपी पार्टीले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेकाले कुनै पनि नेताले एमसिसीको पक्षमा अभिव्यक्ति दिएका छैनन्।

एमसिसी पारित गर्ने उपायका लागि छलफल गर्न प्रचण्डले अझै समय खोजेका छन्। एमसिसीको विपक्षमा कार्यकर्तालाई सडकमा उतारेकाले त्यसको सुरक्षित अवतरणका लागि प्रचण्डले उचित समय खोजेका हुन्।

एकीकृत समाजवादीमा पनि एमसिसी पारित गर्नुपर्ने दबाब ठूलो छ। उक्त पार्टीबाट मन्त्री बनेकाहरू एमसिसी पारित गर्नुपर्ने पक्षमा छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र एकीकृत समाजवादी तयार नभए एमालेसँग सहमति गर्ने प्रयास गरेका छन्। देउवाले दुबैतिर छलफल समेत गरिरहेका छन्। त्यसका लागि पनि शुक्रबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री देउवाको यस्तो रणनीति बुझेर नै दुई पार्टी एमसिसीमा लचिलो बन्ने संकेत देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित