रूस–युक्रेनबीचको वार्ता निष्कर्षविहीन
रूस–युक्रेनबीचको वार्ता निष्कर्षविहीन

युक्रेनमाथि रूसी सेनाको आक्रमण गरेको पाँचौं दिन दुई देशका प्रतिनिधिमण्डलबीच बेलारूसमा ५ घन्टासम्म शान्ति वार्ता भएको थियो।

    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

रूस र युक्रेनबीच भएको पहिलो चरणको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता निष्कर्षविहिन भएको हो।

युक्रेनमाथि रूसी सेनाको आक्रमण गरेको पाँचौं दिन दुई देशका प्रतिनिधिमण्डलबीच बेलारूसमा ५ घन्टासम्म शान्ति वार्ता भएको थियो।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले युक्रेनी अधिकारीसँग भएको वार्तामा कुनै प्रगति हुन नसकेको अल जजिराले बताएको छ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता सम्भावित युद्वविराममा केन्द्रित भएको र दोस्रो चरणको वार्ता छिट्टै हुने प्रतिक्रिया दिएका छन्।

वार्तामा युक्रेनले रूसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो।

रूसी वार्ता टोलीका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने गरि सोमबारको वार्ता सकिएको छ।

यसैबीच रूसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा क्षेप्यास्त्र हमला गरेको छ। हमलाबाट कयौं सर्वसाधारण मारिएका छन्।
अर्कोतर्फ राजधानी किएभमा खतराको साइरन फेरि बजेका छन्।

उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका छन्। रूसले युक्रेनमाथि हमला गरिरहे पनि युक्रेनी फौजको कडा प्रतिवाद गरिरहेको छ। हालसम्म तीनवटा प्रमुख शहर युक्रेनकै नियन्त्रणमा छन्।

साताकाे चर्चित
सम्बन्धित