लोसपामा असन्तुष्टि बढ्दो, ६ महिनादेखि कार्यकारिणी बैठक बस्न सकेन
लोसपामा असन्तुष्टि बढ्दो, ६ महिनादेखि कार्यकारिणी बैठक बस्न सकेन

यसअघि राष्ट्रिय सभा निर्वाचनमासमेत पार्टीमा जानकारी नगराइ दल दल दर्ता गरिएको भन्दै लोसपामा विवाद उठेको थियो।

    • बेल संचार

    • १७ फाल्गुन २०७८, मंगलवार

केन्द्रीय कार्यकारिणी समितीको बैठक नबसी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा असन्तुष्टि बढेको छ।

यसअघि राष्ट्रिय सभा निर्वाचनमासमेत पार्टीमा जानकारी नगराइ दल दल दर्ता गरिएको भन्दै लोसपामा विवाद उठेको थियो।

लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीमा सल्लाहनै नगरी आफूखुसी निर्णय गर्ने गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए।

यसअघि अध्यक्ष ठाकुरले एकलौटी रूपमा जिल्ला संयोजक चयन गरेको विरोधमा लोसपाका धनुषा र महोत्तरीका पार्टी कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना समेत दिएका थिए।

लोसपमा पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको विवाद बढेसँगै असन्तुष्टि बाहिर आउन थालेका हुन्।

‘पार्टी अध्यक्षले एकलौटी निर्णय गर्नुभएको छ। उहाँले कुनै छलफल समेत गर्नुहुन्न’, लोसपाका एक कार्यकारिणी सदस्यले सेतोपाटीसँग भने, ‘भदौं ९ गते दल दर्ताको प्रमाणपत्र पाएको भोलिपल्ट बैठक बसेको हो। त्यसपछि हाम्रो बैठक बस्न सकेको छैन।उहाँले बैठक राख्न चासो दिनुभएको छैन। शीर्ष नेतासँगसमेत छलफल गर्नुहुन्न।’

पुरानै हस्ताक्षरलाई आधार मानेर आयोगमा बुझाइएको तर बैठक राख्न चासो नदेखाएको ती नेताले बताए।

यसैबीच लोसपा कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले निर्देशन समितिमा सल्लाह गरेरै दल दर्ताको लागि निवेदन दिइएको जिकिर गरे।

‘निर्देशन समिती छ भन्ने ज्ञान नभएकाले यस्तो भनेका हुन्। ५ सय ७१ को केन्द्रीय कमिटी बनाउने भने पनि गठन भएको छैन। कार्यकारिणी समितीको बैठक बस्न १० दिनअघि भन्नुपर्छ,’ शुक्लाले भने, ‘पार्टी नीति विपरित गएर केही काम भएको छैन। केही व्यक्तिले यसलाई विवादमा तान्न खोजेका होलान्।’

लोसपामा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा रहेको निर्देशन समिति छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले आयोगमा दल दर्ताका लागि आएका निवेदन छानबिन हुन बाँकी रहेको बताए।

‘अहिले हामीले निवेदन लिएका हौ। यसको छानविन हुन बाँकी छ,’ उनले भने, ‘आवश्यक कागजात पुगे नपुगेको हामी हेर्छौ। अहिले केही भन्न मिल्दैन।’

साताकाे चर्चित
सम्बन्धित