यी दश जिल्लामा फागुन २८ गतेदेखि खुवाईदैँछ हात्तीपाइले विरुद्धको औषधि
यी दश जिल्लामा फागुन २८ गतेदेखि खुवाईदैँछ हात्तीपाइले विरुद्धको औषधि
    • बेल संचार

    • २४ फाल्गुन २०७८, मंगलवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २८ गतेदेखि मुलुकका दश वटा जिल्लामा एकैपटक हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ ।
मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज टेकुमा आयोजित पत्रकार भेटघाटमा महाशाखाका निर्देशक डा चुमनलाल दाशले हात्तीपाइले रोगको निवारण नभएका १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने जानकारी दिनुभयो ।

उहाँले झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालिने बताउनुभयो । तीमध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । उहाँले यी १० जिल्लामा औषधि खानयोग्य सबैले नखाइ दिएको र हरेक दुई÷दुई वर्षमा रगत परीक्षण गर्दा रोगको दर नघटेकाले पुनःऔषधि खुवाउनुपरेको जानकारी दिदै सबैले नछुटाई औषधि सेवन गरिदिन आग्रह गर्नुभयो । ती जिल्लाका सबैलाई औषधि खुवाइने छ । कसैले पनि नछुटाई खाईदिएमा दुई बर्ष भित्रमा नै यो रोगको उन्मुलन हुने पनि उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

हात्तीपाइले हाइड्रोसिल र खुट्टामा देखिने गर्दछ । ती १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई औषधि खुवाउन थालिएको हो । चार हजार ७०० स्वास्थ्यकर्मी र आठ हजार ८०० महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घरघरमा गएर औषधि खुवाउने छन् । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हात्तीपाइले रोग सामाजिक रोग भएकाले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताउनुभयो । विश्वमा ७२ देशमा देखिएका हात्तीपाइले रोग नेपाल २५ देशमध्ये जोखिममा पर्ने गरेको छ ।

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ । यो रोगको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारणले हुने दीर्घकालीन असर हात्तीपाइले र अण्डकोश सुन्निने गर्दछ ।


नेपालमा सन् २००३ बाट हात्तीपाइलेको औषधी खुवाउन थालिएको थियो । सरकारले सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गर्ने लक्ष लिएकोमा उक्त लक्ष पुरा नभएपछि अहिले सन् २०३० सम्ममा नेपालबाट नै यो रोग निवारण हुने लक्ष राखेको छ ।

साताकाे चर्चित
सम्बन्धित