गठबन्धनबाट बाहिरिएको जनमोर्चाले भन्यो- सरकारलाई दिएको समर्थन कायमै छ
गठबन्धनबाट बाहिरिएको जनमोर्चाले भन्यो- सरकारलाई दिएको समर्थन कायमै छ

‘एमाले र राजावादी शक्तिहरूसँग हाम्रो कुनै प्रकारको चुनावी तालमेल हुनेछैन ।

    • बेल संचार

    • २६ फाल्गुन २०७८, बिहीबार

संसदबाट एमसिसी अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै पाँचदलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको छ।

देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा रहेको भन्दै जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले समर्थन कायम राख्ने निर्णय लिएको महासचिव मनोज भट्टले जानकारी दिएका छन्।

‘राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनबाट अलग भइसकेपछि सरकारलाई दिएको समर्थनका विषयमा कुन प्रकारको नीति अपनाउने भन्ने सवालमा विचार गर्नुपर्ने आवश्यकता छ । वर्तमान सरकारको निर्माण ओलीले लादेको प्रतिगमनविरुद्धको संघर्षको सफलताको परिणाम हो ।

अहिले पनि प्रतिगमनविरुद्धको संघर्षको आवश्यकता र औचित्य कायमै छ,’ महासचिव मनोज भट्टले बुधबार जारी गरेको विज्ञप्तिमा छ, ‘त्यसैले प्रतिगमनविरुद्ध बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने त्यसबाट देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा देखिएकाले देशको राजनीतिलाई गलत दिशामा जान नदिनका लागि वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको छ । त्यो नीति प्रदेश सरकारहरूको हकमा पनि कायम रहनेछ ।’

एमाले र राजावादीसँग कुनै पनि हिसाबमा चुनावी तालमेल नहुने जिकिर गर्दै जनमोर्चाले पाँचदलीय गठबन्धनमा सामेल बेग्लाबेग्लै घटकसँग चुनावी तालमेल गर्ने नीति लिएको छ।

‘एमाले र राजावादी शक्तिहरूसँग हाम्रो कुनै प्रकारको चुनावी तालमेल हुनेछैन ।

पाँचदलीय गठबन्धनमा सामेल बेग्लाबेग्लै घटकहरूसँग चुनावी तालमेल गर्न सक्ने नीतिलाई कायम नै राखिएको छ,’ जनमोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘तर, त्यसको अर्थ ती पक्षसँग अनिवार्य रूपमा नै तालमेल गर्ने नीति अपनाइएको भन्ने अर्थमा हामीले बुझ्नुहुँदैन। स्थानीय निर्वाचनमा अन्य पक्षसँगको तालमेलका लागि सम्बन्धित पक्षसँगतको वार्ता र समझदारीमा कोसँग कार्यगत एकता गर्ने र कोसँग नगर्ने भन्ने कुरा निर्भर रहनेछ।’

साताकाे चर्चित
सम्बन्धित