युक्रेन र रूसबीच आज पनि वार्ता हुँदै
युक्रेन र रूसबीच आज पनि वार्ता हुँदै

उनीहरूबीच भिडिओमार्फत् स्थानीय समयअनुसार साढे ८ बजे बिहान छलफल हुन लागेको युक्रेनले जनाएको छ। 

    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

युक्रेनमा जारी युद्ध रोक्न कूटनीटिक प्रयासपछि दुबै देशका नेताहरू सोमबार फेरि वार्ता गर्ने भएका छन्।

वार्ता गर्न दुबै पक्ष सकारात्मक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

‘रूसले प्रभावकारी रूपमा कुरा गर्न सुरू गरिसकेको छ,’ युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकले भिडिओमा भने, ‘मलाई लाग्छ कि हामीले केही दिनमै परिणाम आउँछ।’

रूसी समाचार एजेन्सीले रूसी प्रतिनिधि लिओनिड स्लट्स्कीलाई उदृत गर्दै वार्ता सकारात्मक रहेको र सम्झौता गर्न सम्भव भएको बताएका थिए।

उनीहरूबीच भिडिओमार्फत् स्थानीय समयअनुसार साढे ८ बजे बिहान छलफल हुन लागेको युक्रेनले जनाएको छ।

के कस्तो विषयमा छलफल हुने खुलेको छैन। युक्रेन र रूसबीच बेलारूसमा तीन पटक छलफल भइसकेको छ।
गत सोमबार पनि उनीहरूबीच छलफल भएको थियो।

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले दुबै देशका प्रतिनिधिहरूले दैनिक भिडिओमार्फत् कुराकानी भइरहेको बताएका छन्।

युक्रेनी प्रतिनिधिहरूको प्रमुख उद्देश्य राष्ट्रपति जेलेन्स्की र भ्लादिमिर पुटिनसँग भेटवार्ता गराउनु भएको रोयटर्सले जनाएको छ।

‘हामीले धैर्य राख्नुपर्छ। हामीले लड्नुपर्छ। र हामी जित्छौं,’ जेलेन्स्कीले गएराति भिडिओमार्फत् सम्बोधन गर्दै भने।

वार्ताको कुरा भइरहे पनि रूसले युक्रेनमाथि आक्रमण गर्न भने रोकेको छैन।

रूसले पोलिस बोर्डर नजिकैको सैनिक बेसमा पनि आक्रमण गरेको छ भने अन्य ठाउँमा पनि आक्रमण भइरहेका छन्।

युद्धबीच नै उनीहरूबीच वार्ता हुन लागेको हो। युक्रेनको याभोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एन्ड सेक्युरिटी बेसमा रूसले मिसायल प्रहार गरेका थिए।

जसमा परी ३५ जनाको मृत्यु र १३४ जना घाइते भएका थिए।

त्यहाँ रहेका विदेशी हतियारहरूहरू पनि ध्वस्त बनाएको रूसी रक्षा मन्त्रालयले जनाएको छ।

फेब्रुअरी २४ देखि रूसले युक्रेनमाथि युद्धको घोषणा गरेयता हजारौं मानिसहरू मारिएका छन्।

साताकाे चर्चित
सम्बन्धित