छात्रावास बनाउन रकम सङ्कलन   
     छात्रावास बनाउन रकम सङ्कलन   
    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

बेनी,
म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु २७ लाख बढी रकम सङ्कलन गरेका छन् । विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ सङ्कलन समिति गठन गरी देश–विदेशमा सञ्चालन गरिएको अभियानबाट रु २७ लाख ३५ हजार ४५४ सङ्कलन भएको हो ।

उक्त रकमबाट स्थानीय गङ्गाबहादुर बुढाथोकीको करिब चार रोपनी जग्गा रु २५ लाखमा खरिद गरिएको विद्यालयका प्रअ कृष्णलाल सापकोटाले जानकारी दिनुभयो । उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा म्याग्दीको रु ७० लाख लागतमा दुईतले चारकोठे छात्रावास भवन निर्माण गत वर्ष नै सम्पन्न भइसकेको छ ।

प्रदेश सरकारको रु ५० लाख सहयोगमा एक सय जनाको क्षमता रहने नयाँ भवन निर्माण पनि सुरु गरिएको छ । सोमबार विद्यालयमा कार्यक्रम आयोजना गरी चन्दादातालाई सम्मान गरिएको छ । अर्थ सङ्कलन अभियानमा जोडिएका देश–विदेशमा रहेका बरङ्जावासी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारीलगायतलाई सम्मान गरिएको हो ।

उक्त अभियानमा विद्यालयको मुक्तिनाथ र प्रभु बैंकको खातामा रहेको बचत रकम रु पाँच लाख ८० हजार ५०० समेत परिचालन गरिएको थियो । सङ्कलित रकमबाट जग्गा खरिदसहित विभिन्न प्रयोजनमा करिब रु २७ लाख खर्च भएको अभियानका आर्थिक संयोजक विलभ थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले शिक्षामा सरकारले निकै ठूलो रकम लागानी गरेको तर लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । जिल्लामा पनि केन्द्र र प्रदेश सरकारबाट गरी रु एक करोडभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन हुने गरेको जनाइएको छ ।

कार्यक्रममा मङ्गला–३ बरङ्जाका वडाध्यक्ष कविन्द्र रोकाले महेन्द्ररत्न माविले शिक्षामा अग्रणी स्थान हासिल गरेको बताउनुभयो । बरङ्जाकै धापुङ, महेश, दुर्दी, झाँक्रीपानीलगायतका स्थानबाट करिब डेढ घण्टा लगाएर विद्यालय आउने विद्यार्थीलाई छात्रावास बनेपछि सहज हुने अपेक्षा गरिएको छ ।

–––

साताकाे चर्चित
सम्बन्धित