राप्रपाको भूपू सैनिक संगठनको घोषणा
राप्रपाको भूपू सैनिक संगठनको घोषणा

उनले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट राजनीतिक ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन्।

    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएको दाबी गरेका छन्।

उनले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट राजनीतिक ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित राप्रपानिकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद (राप्रपा) को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले हालको स्थितिमा परिवर्तन हुनुपर्ने बताए।

नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताए।

लिङ्देनले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भई तागत निर्माण गर्नुपर्ने बताए।

‘राप्रपा शान्तिपूर्ण देशभक्तिको आन्दोलनमा अनवरत् क्रियाशील भइरहेको छ, लिङ्देनले भने, ‘प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ, आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गरौं।’

राप्रपाले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाशजङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद (राप्रपा) को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ।

परिषदको सहअध्यक्षमा डिबी थापा, सात वटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू तोकिएको छ।

साताकाे चर्चित
सम्बन्धित