ढोडको लौरी टेक्ने होइन, एमालेले एक्लै ७० प्रतिशत सिट जित्छ: अध्यक्ष ओली
ढोडको लौरी टेक्ने होइन, एमालेले एक्लै ७० प्रतिशत सिट जित्छ: अध्यक्ष ओली

साथै उनले प्रकाश सपुतले ल्याएको 'पिर' गीतमाथि पनि टिप्पणी गरेका थिए।

    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा हुने स्थानीय तहको चुनावमा एक्लै लड्ने बताएका छन्।

उनले एमालेलाई गठबन्धनको आवश्यकता नपर्ने बताए।

अखिल नेपाल महिला संघले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स्थानीय चुनावमा ६० देखि ७० प्रतिशत सिट जितिने बताए।

‘यसको वैशाखी टेक्नुपर्छ भन्ने छैन, ढोडको लौरी टेक्ने होइन, हामी एक्लै चुनाव लड्न र जित्न सक्छौं,’ ओलीले भने, ‘६० देखि ७० प्रतिशत स्थानीय तह एमाले एक्लै जित्न सक्छ।’

उनले यति जित्नका लागि कसैसँग पनि तालमेल गर्नु नपर्ने बताए। ‘कांग्रेस र सबैलाई मिलाएर सर्वसम्मत होऔं भन्ने त्यो कुरा पनि हुन्छ?,’ उनले भने, ‘प्रतिस्पर्धात्मक व्यवस्था रोजेकोले केही ठाउँमा हामी हार्न सक्छौं।’

उनले कम्युनिष्ट एकता बेकारको कुरा भएको बताए।

‘कम्युनिष्ट एकता बेकारको तमासा हो। कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने?,’ उनले भने, ‘यस्ता पनि कम्युनिष्ट? यहाँ के कम्युनिष्ट के कांग्रेस- दुइटा राजनीति छ, प्रतिगमनकारी र कम्युनिष्ट विरोधी शक्ति।’

साथै उनले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतमाथि पनि टिप्पणी गरेका थिए।

‘तिम्रो मायाले मलाई पिर दियो….,’ उनले भने, ‘कुनै कुनै पार्टीलाई त पिरले उधुम नै भएको छ।’

सपुतको पिर गीत युट्युवबाट हटाउन नेकपा माओवादी केन्द्रको भातृ संस्थाले माग गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गीतलाई लिएर उत्तेजित हुनु नपर्ने प्रतिक्रिया दिएका थिए।

साताकाे चर्चित
सम्बन्धित