‘सम्बन्ध विच्छेद गरेका महिलाले अर्को बिहे गरे अंश फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका छौं’
‘सम्बन्ध विच्छेद गरेका महिलाले अर्को बिहे गरे अंश फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका छौं’

कतै कसैबाट त्यस्तो भएको सुनिएको हुनाले अर्को ठाउँमा विहे गरेर गएपछि पहिलो लोग्नेबाट ल्याएको सम्पत्ति त फिर्ता गर्नुपर्ने हो कि ?

    • बेल संचार

    • ४ चैत्र २०७८, शुक्रबार

काठमाडौं

नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधन प्रस्ताव अघि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।

उक्त व्यवस्थामा ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रस्तावका बारेमा नेपाल कानून आयोगका अध्यक्ष जागेश्वर सुवेदीसँग गरिएको कुराकानी :

अहिले अकस्मात मुलुकी देवानी संहिता संशोधन गर्नुपर्ने आवश्यकता किन देख्नुभयो ?

आयोग आफैंले कानुन परिमार्जनको काम गर्दैन । कानुन मन्त्रालयको आग्रहमा आयोगले कानुन संशोधनका विषयमा अध्ययन गर्ने हो । हामीले मस्यौदा बनाइदिने मात्रै हो ।

गतवर्ष नै आयोगले मुलुकी अपराध संहिताको संशोधन विधेयक तर्जुमा गरेर कानुन मन्त्रालयलाई पठाइसकेको रहेछ । देवानीको मात्रै बाँकी रहेकाले यसपालि छलफल प्रक्रिया अघि बढाइएको हो ।

सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा अंश फिर्ता गर्नुपर्ने प्रस्तावको औचित्य के हो ?

सामान्य छलफलका क्रममा यो प्रस्ताव आएको हो । मस्यौदा एकदमै प्रारम्भिक चरणमा छ । महिलाले पाएको अधिकार हामीले खोस्न खोजेको होइन । अलिकति केही अधिकार दुरुपयोग भयो कि भनेर अंकुश लगाउन खोजेको हो ।

सम्बन्धविच्छेदका क्रममा महिलाले पतिबाट अंश पाउँछन् । (विवाह गरेर) कहीं गएनन्, एकल भएर बसेमा सम्पत्ति फिर्ता गर्नुपर्ने होइन । कतिपय अवस्थामा विहे गरेको कुरा पनि सुनियो । विवाह गर्दै र सम्पत्ति संकलन गर्दै जाने गरेको कुरा सुनियो ।

कतै कसैबाट त्यस्तो भएको सुनिएको हुनाले अर्को ठाउँमा विहे गरेर गएपछि पहिलो लोग्नेबाट ल्याएको सम्पत्ति त फिर्ता गर्नुपर्ने हो कि ? यो कस्तो होला भनेर प्रस्ताव गरिएको हो र यसमा सामान्य छलफल भएको हो ।

यो प्रस्ताव अहिले किन आवश्यक भयो ?

महिलाले कमाएको सम्पत्ति फिर्ता दिनुपर्छ भनेको होइन । भाग लाग्छ भनेको पनि होइन । पहिलाको लोग्नेबाट आएको सम्पत्ति मात्रै फिर्ता गर्ने हो । त्यसमा पनि आफूले खर्च गरिसकेको छ भने फिर्ता गर्ने कुरा भएन । बाँकी रहेको छ भने फिर्ता गर्ने हो ।

सम्बन्ध विच्छेद गरेर बसेकी कोही महिला अर्को विवाह गरेर जाने भइन् भने (पूर्वपतिबाट पाएको सम्पत्ति) बचेको भए फिर्ता गर्ने हो, भोग गरेर सकिएको भए त के फिर्ता गर्नु र ?

यस्तो प्रस्ताव समानताको दृष्टिकोणले उचित हो र ?

विभिन्न ठाउँबाट सुझावका क्रममा आएकाले प्रस्ताव गरिएको हो । अंशमा पाएको सम्पत्ति खर्च गरिसकेको वा मासिसकेको भए फिर्ता गर्नु पर्दैन । बाँकी रहेमा मात्रै फेरि अर्कोतिरबाट पनि अंश पाउने भएकाले विकृति हुन्छ कि भन्ने सोचका साथ प्रारम्भिक रुपमा प्रस्ताव आएको हो ।

यो प्रस्ताव अहिले कुन चरणमा छ ?

प्रारम्भिक छलफल भएको विषय हो । कानुन मन्त्रालय पुग्न अझै समय लाग्छ । हिजोमात्रै हामीले छलफल सुरु गरेका हौं । एक ढंगको छलफलपछि कानुन आयोगको बैठकले टुंग्याएर मात्रै कानुन मन्त्रालयमा विधेयकको मस्यौदा पुग्छ ।

हामीले कानुन तर्जुमा गर्दा गोप्य रुपमा बनाएर लैजाने वा सुटुक्क पठाउने होइन । छलफलमा आएका कुराहरुमा बहस भएको हो । त्यसमा काँटछाट पनि होला ।

कानुन व्यवसायी, अध्यापकहरु लगायतले यो प्रावधानमाथि छलफल गर्नुभएको छ । अझै पनि आगामी दिनमा छलफल होला । उहाँहरुले यसबारेमा अझै धेरै छलफल हुनुपर्छ भन्ने सुझाव राख्नुभएको छ । कार्यविधिमा एकरुपता अपनाउनुपर्ने सुझाव छ ।

मस्यौदा बन्नुअघि केही अध्ययन वा अनुसन्धान भएको थियो कि ?

सधैभरि एउटै कानुन स्थिर भएर बसिरहदैन । समय अनुसार जनताको चाहना बमोजिम परिमार्जन गर्दै जानुपर्छ । के कति समस्या देखिए भनेर यस्तो छलफल भएको हो । भोलि यो प्रस्ताव कानून मन्त्रालय जान्छ, मन्त्रालयले हेर्छ ।

अनि मन्त्रिपरिषदको अनुमोदनबाट संसदमा जान्छ र फेरि संसदीय समितिमा छलफल होला । त्यहाँबाट टुंगिएपछि दुवै सदनले पारित गरेमा मात्रै कानुनको स्वरुप ग्रहण गर्ने हो ।

साताकाे चर्चित
सम्बन्धित