लाप्राक पुगेर माधव नेपालले भने- वृद्धभत्ता हामीले सुरू गरेको, स्याबास् भन्नुपर्ने होइन?
लाप्राक पुगेर माधव नेपालले भने- वृद्धभत्ता हामीले सुरू गरेको, स्याबास् भन्नुपर्ने होइन?

‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री।

    • बेल संचार

    • ४ चैत्र २०७८, शुक्रबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका छन्।

उनले आफूहरूले वृद्धभत्ता सुरू गरेको प्रसंग निकालेका छन्। ‘नेपालमा बुढापाकालाई भत्ताको सुरूवात कसले गर्‍यो भनेर सोध्ने हो भने त्यो बेलाको पार्टी, जसको नेता माधव नेपाल थिए त्यही पार्टीले गर्‍यो भन्छन्,’ उनले भने।

वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको पनि नेपालले बताए।

‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री। पार्टीका तर्फबाट मुल नेता। यो भत्ताको सुरू गर्ने मान्छे। मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन। कमसेकम स्याबास् भन्नुपर्ने हो नि!’

उनले ०५१ मा मासिक एक सय रूपैयाँ दिने गरी वृद्धभत्ता सुरू गरिएको बताए।

उनले ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको पनि बताएका थिए। ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो,’ उनले भने।

जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभए पनि केही काम भने भएको अध्यक्ष नेपाल बताउँछन्। उनले लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि आग्रह गरेका थिए।

‘सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उनले भने, ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु।’

लाप्राक पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको उनले बताए।

उनले नेता र सरकारलाई खबरदारी गर्न जनताहरूलाई आग्रह गरेका थिए। ‘मानिस जाँडको मातले मातिएजस्तै पदको मातले पनि मातिँदो रहेछ,’ उनले भने, ‘सरकार र नेतालाई खबरदारी गरिराख्नुस्।’

उनले लाप्राकीमा नेतालाई खबरदारी गर्ने आँट रहेको पनि बताए।

साताकाे चर्चित
सम्बन्धित