कांग्रेस उपसभापति गुरूङप्रति प्रचण्डको आक्रोश
कांग्रेस उपसभापति गुरूङप्रति प्रचण्डको आक्रोश

सरकार बनाउन गठबन्धन गरेको कांग्रेसले वैशाखमा हुने चुनावमा त्यो गठबन्धनलाई साथसाथै लैजान्छ कि एक्लै अघि बढ्छ भन्ने चासोसाथ हेरिएको छ।

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

स्थानीय चुनाव नजिकिएपछि दलहरूभित्र चुनावी तालमेलबारे बहस भइरहेका छन्।

सत्तारूढ नेपाली कांग्रेसभित्र पनि शेखर कोइराला पक्ष चुनावी तालमेलको विपक्षमा छ। कोइराला पक्षबाट उम्मेदवार बनेर उपसभापति जितेका धनराज गुरूङ पनि चुनावी तालमेलका पक्षमा छैनन्, कांग्रेस एक्लै चुनावमा होमिनुपर्नेमा छन्।

अहिले पाँचदलीय गठबन्धनको सरकार छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाको सहकार्यमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्।

सरकार बनाउन गठबन्धन गरेको कांग्रेसले वैशाखमा हुने चुनावमा त्यो गठबन्धनलाई साथसाथै लैजान्छ कि एक्लै अघि बढ्छ भन्ने चासोसाथ हेरिएको छ।

कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान फागुन २९ देखि जारी राखेको छ। स्थानीय चुनाव केन्द्रित कांग्रेसको यो अभियानमा गठबन्धनबारे ‘नबोल्न’ भनिएको छ।

तर नेताहरूले विभिन्न मञ्चबाट फरकफरक अभिव्यक्ति दिइरहेका छन्। गठबन्धन गरेर जान नहुने र त्यसले अन्तत कांग्रेसलाई क्षति पुग्ने उपसभापति गुरूङलगायतको धारणा छ।

यस्ता कुरा सुनेर सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुनलगायतको चित्त दुखेको छ।

उपसभापति गुरूङका अभिव्यक्ति सुन्नै नसकिने खालको भनेर आज बिहान प्रचण्डले पोखरामा बोलेका छन्।

उपसभापति गुरूङले केही समयअघि विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘हात्तीको कानमा बस्न आएको चमेरो’ भन्ने अभिव्यक्ति दिएका थिए।

‘कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ। हात्तीको कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ उपसभापति गुरूङले भनेका थिए।

यसतर्फ लक्षित गर्दै आज प्रचण्डले उपसभापति गुरूङले सुन्नै गाह्रो हुने भाषा बोलेको बताएका थिए।

‘कांग्रेसका एकजना गुरूङजी छन् नि! के रे.. हात्तीको उसमा चमेरा कि के भन्या छन् एउटा.. त्यस्तै भाषा क्या! बढो सुन्न गाह्रो भाषा बोल्ने, तिनलाई भन्या हो। त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ,’ प्रचण्डले भने।

उनले चुनावी तालमेल एमालेसँग तत्काल नहुने बताए।

‘विकल्प सोच्ने भनेको एमालेसँग गठबन्धन गर्ने भनेको होइन। हामी त अहिले गठबन्धनलाई नै लिएर जाने भनेको हो,’ उनले भने, ‘एमालेसँग गठबन्धन गर्ने सोचेको छैन, तर राजनीतिमा असम्भव त हुन्न।’

उनले कांग्रेस सभापति देउवाको प्रस्तावमा आफू एकपटक प्रधानमन्त्री बने पनि एमाले अध्यक्ष ओलीले भने एकपटक पनि प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताए।

‘ओलीलाई २ पटक र देउवालाई २ पटक हामीले नै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको हो,’ उनले भने, ‘केपीले मलाई र हाम्रो पार्टीलाई कहिले पनि प्रधानमन्त्री प्रस्ताव गर्नुभएको छैन। बरू शेरबहादुरजीले एकचोटी गर्नुभयो।’

माओवादी नेता वर्षमान पुनले पनि केही दिनअघि बुटवलमा ‘कांग्रेसका नेताहरूलाई सत्ताबाट सडकमा पुर्‍याउन सकिने’ बताएका थिए। आफूहरूले सडकमा रहेको कांग्रेसलाई सत्तामा पुर्‍याएकोले ‘माओवादीलाई लक्षित गरेर जथाभावी’ नबोल्न उनले चेतावनी दिएका थिए।

अध्यक्ष प्रचण्डले आज बिहान पोखरामा माओवादीलाई गठबन्धन चाहिएकोभन्दा पनि अरू दल माओवादीसँग गठबन्धन गर्न आउने बताएका थिए।

कांग्रेस उपसभापति गुरूङले गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्ने र नेताहरूले बोलेका विषयमा टिप्पणी गर्दै हिँड्नु राम्रो नहुने बताएका थिए।

‘गठबन्धन गरेर फाइदा हुन्छ भन्ने हिसाबकिताब गर्ने संस्कार बस्न थालेको छ कुनै पार्टीका नेताहरूमा भने त्यो मनस्थितिबाट हामी प्रभावित हुन हुँदैन,’ उपसभापति गुरूङले भनेका थिए।

साताकाे चर्चित
सम्बन्धित