निर्वाचनमा जाने/नजानेबारे विप्लवको पार्टीमा दुई धार
निर्वाचनमा जाने/नजानेबारे विप्लवको पार्टीमा दुई धार

विप्लवसहित खड्कबहादुर विश्वकर्मा, सन्तोष पुनलगायत नेताहरू चुनावको पक्षमा छन्।विप्लवसहित खड्कबहादुर विश्वकर्मा, सन्तोष पुनलगायत नेताहरू चुनावको पक्षमा छन्।

    • बेल संचार

    • ७ चैत्र २०७८, सोमबार

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा निर्वाचनमा जाने\नजाने विषयमा दुई धार देखिएको छ।

शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटि बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ।

विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन चुनावलाई उपयोग गर्नुपर्ने विचार अघि सारेका छन्।

उनले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीले सहभागिता जनाउनुपर्ने भनेका छन्।

विप्लवसहित खड्कबहादुर विश्वकर्मा, सन्तोष पुनलगायत नेताहरू चुनावको पक्षमा छन्।

सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली भने चुनावको विपक्षमा छन्।

बास्तोलाले चुनावको विरोध गरे पनि राष्ट्रपतीय प्रणालीको एजेण्डा अगाडि बढाउनुपर्ने तर्क गरेका छन् भने ओलीले चुनाव बहिष्कारनै गर्नुपर्ने बताएका छन्।

‘पार्टीमा दुई धार स्पष्ट देखिएको छ। यो केन्द्रीय कमिटीले एउटा निश्कर्ष निकाल्छ। सचिवालयकै नेताहरू चुनावको पक्ष र विपक्षमा छन्,’ एक केन्द्रीय सदस्यले भने, ‘हामीले शान्तिपूर्ण राजनीतिमा आउने भनेर सहमति गरिसकेपछि अब चुनावमा जानुपर्छ भन्ने मत बलियो छ। केही साथीले अहिले जस्तो निर्वाचनमा गएर अर्थ नहुने बताउनुभएको छ।’

विप्लव नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारबीच गत वर्ष ३ बुँदे सम्झौता भएको थियो। फागुन २१ मा ओली नेतृत्वको सरकारसँग वार्ता गरेर विप्लवको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो।

त्यसयता विप्लवले सहमति कार्यान्वयनका लागि पहल गर्न विभिन्न राजनीतिक नेतासँग पटक-पटक भेट गरिसकेका छन्।

२०६९ सालमा मोहन वैद्य नेतृत्वमा पार्टी माओवादी विभाजनमा सहभागी भएका विपल्व २०७१ मा वैद्यसँग छुट्टिएका थिए।

पार्टी विभाजन गरेर क्रान्ति गर्छु भनेको औचित्य प्रमाणित नभएको भन्दै पार्टीभित्र विप्लवको आलोचनासमेत भइरहेको छ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच एकताको लागि प्रयास समेत भइरहेको छ। त्यसको लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रयास गरिरहेका छन्। उनले विप्लवलाई पटक-पटक भेटसमेत गरेका छन्।

माओवादी केन्द्रसँग एकता गर्ने विषयमा भने विप्लव र विश्वकर्माबीच मतभेद छ। विश्वकर्माले एमालेसँग एकता गर्न चाहेको स्रोतको दाबी छ। तर विप्लवले जस्तो निर्णय गरे पनि सँगै रहने गरी गर्ने भनेर विश्वकर्मालाई रोकेको स्रोतको दाबी छ। विप्लवले माओवादी केन्द्रसँग एकता गर्न चाहे पनि माओवादी केन्द्र भित्रैका केही नेताहरू त्यसमा तयार नभएको बताइएको छ।

‘हाम्रा पार्टीका बारेमा जति पनि आशंका र बहसहरू भएका छन्। ती सबैको विषयमा हाम्रो पार्टी बैठकमा छलफल भइरहेको छ,’ विप्लव नेतृत्वको नेकपाका एक नेताले भने, ‘हाम्रो बैठकले सबै विषयमा स्पष्ट निर्णय गर्छ। त्यसपछि हामी कसरी जान्छौ भन्ने रोडम्याप तयार हुन्छ।’

साताकाे चर्चित
सम्बन्धित