केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले राखे कांग्रेस जिल्ला सभापतिको भेला
केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले राखे कांग्रेस जिल्ला सभापतिको भेला

‘जिल्ला सभापतिहरू र नेताहरूसँग उहाँले कुराकानी गर्नुभएको हो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले भने।

    • बेल संचार

    • ११ चैत्र २०७८, शुक्रबार

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला राखेका छन्।

आफ्नै निवास बोहराटारमा आज बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाएका हुन्।

कांग्रेसको १४ औं महाधिवेशनका बेला ६१ जिल्ला अधिवेशनसम्म पौडेल पक्ष र सभापति शेरबहादुर देउवा पक्षबीच विभिन्न जिल्लामा प्रतिस्पर्धा भएको थियो।

पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकअघि जिल्ला सभापति भेला राखेका हुन्। आज दिउँसो २ बजे सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।

‘जिल्ला सभापतिहरू र नेताहरूसँग उहाँले कुराकानी गर्नुभएको हो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले भने।

छलफलमा पूर्वमहामन्त्री शशांक कोइराला पनि सहभागी छन्। यस्तै कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्य दीपक गिरी, मधु आचार्य, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेताहरू पनि सहभागी छन्।

स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाएका हुन्। गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा पौडेल मौन बसेका थिए। उनी उम्मेदवार पनि भएनन् भने भोट हाल्न पनि गएनन्।

पौडेलले जिल्ला सभापति भेला राखेर आफ्नो गुट कायमै रहेको सन्देश दिन खोजेका छन्। यसअघि उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनका बेला आफूनिकट दुई नेतालाई उम्मेदवार बनाएका थिए।

कांग्रेस महाधिवेशनमा सभापति पदमा देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा देउवाले जितेका थिए। सभापति देउवाले निर्णय प्रक्रियामा शेखर पक्षसँग परामर्श गर्ने गरेका छैनन्।

साताकाे चर्चित
सम्बन्धित