युक्रेनमा रुसको आक्रमणका कारण रुसमाथि जापानले प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धबाट आक्रोशित रुसले जापान र आफूबीच दोस्रो विश्वयुद्धको समयदेखि नै विवादित रहँदै आएको द्विपमा युद्ध अभ्यास सुरु गर्ने धम्की दिएको छ । रुसले यो घोषणा जापानसँग आफ्नो शान्ति वार्ताबाट पछि हटेको केही दिनपछि गरेको हो ।
रुस र जापानबीच ४ द्विपहरुका विषयमा विवाद छ । यी द्विपहरुलाई रुसले दक्षिणी कुरिल्स भन्छ र जापानले उत्तरी टेरिटोरी भन्छ । यी दुई देशबीचको यो विवाद करिब ७० वर्ष पुरानो हो । यही विवादका कारण रुस र जापानले अहिलेसम्म दोस्रो विश्वयुद्ध अन्त्य गर्नको लागि भएको एक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।
यो हप्ताको सुरुवातमा रुसले जापानसँग यो सम्झौताको विषयमा भइरहेको शान्ति वार्ताबाट आफू अलग भएको घोषणा गरेको थियो । रुसका अनुसार युक्रेनमा रुसको कारवाहीपछि टोक्योको कडा प्रतिक्रियाका कारण यो निर्णय गरिएको हो ।
रुसको इस्टर्न मिलिट्री डिस्ट्रिक्टले ३ हजार भन्दा धेरै सैनिक र सैन्य उपकरणको साथमा यी द्विपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । यसअघि शान्ति वार्ताबाट अलग भएको र विवादित द्विपहरुमा संयुक्त आर्थिक परियोजना रोकेको भन्दै जापानले रुसको आलोचना गरेको थियो ।