इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।
मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुवात गरेको हो।
वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। कोलकत्ताको जितमा अजिन्का रहाणेले ४४ रन जोडे भने साम विलिङसले २५ रन जोड्दा बनाए। कप्तान श्रेयस एय्यर २० रनमा अविजित रहे।
चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।
चेन्नईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै रोबिन उथप्पाले २८ तथा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए।कोलकत्ताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए।जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।