किन आएन प्रधानमन्त्री देउवाको भारत भ्रमणमा संयुक्त वक्तव्य
किन आएन प्रधानमन्त्री देउवाको भारत भ्रमणमा संयुक्त वक्तव्य

प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री नारायण खड्का

    • बेल संचार

    • २० चैत्र २०७८, आईतवार

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यसपालि संयुक्त वक्तत्व भने जारी भएन।

नेपाली प्रधानमन्त्री भारत भ्रमणमा जाँदा संयुक्त वक्तव्य जारी गर्ने प्रचलन थियो। यसअघि २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदा संयुक्त जारी भएको थियो।

त्यसअघि भारतीय नाकाबन्दीपछि २०७२ फागुनमा प्रधानमन्त्री ओली भारत जाँदा भने संयुक्त वक्तव्य आएको थिएन। त्यतिबेला भारतले नेपालमा जारी भएको संविधानलाई स्वीकारेको थिएन।

यसपालि पनि संयुक्त वक्तव्य नआएकोसम्बन्धी राखिएको जिज्ञासामा परराष्ट्र मन्त्री नारायण खड्काले दुबै पक्षले आ-आफूले विज्ञप्ति जारी गर्ने समझदारी भएअनुसार संयुक्त वक्तव्य नआएको बताए।

शनिबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण र दुई प्रधानमन्त्रीबीच भएको कुराकानीबारे विज्ञप्ति जारी गरेका थिए।

नेपालले जारी गरेको वक्तव्यमा सीमासम्बन्धी विषयमा कुरा भएको र स्थापित संयन्त्रमार्फत् कूटनीति र संवादमार्फत हल गर्न भारतीय पक्षलाई अनुरोध गरिएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने सीमा सम्बन्धी कुरा उल्लेख छैन।

नेपालले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि पहिलो पटक नेपाली प्रधानमन्त्रीले भारतको भ्रमण गरेका हुन्।

यसअघि हैदरावाद हाउसमा प्रेसलाई संयुक्त सम्बोधनका क्रममा पनि भारतीय प्रधानमन्त्री मोदीले सीमाबारे कुनै कुरा बोलेका थिएनन्।

दुई पक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनमा  भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई प्रधानमन्त्रीको वार्ताका क्रममा सीमा समस्याबारे कुरा भएको जानकारी दिएका थिए।

परराष्ट्र मामिलाका विज्ञ दिनेश भट्टराईले सीमाकै विषयमा दुबै पक्ष एक मत हुन नसकेकाले संयुक्त वक्तव्य नआएको हुन सक्ने बताए।

‘भारतले त सीमा विवादको विषय सुन्नै चाँहदैनथ्यो। तर संयुक्त प्रेस कन्फेरेन्समा हाम्रो प्रधानमन्त्रीले सीमाको कुरा उठाउनु भएको छ। भारतीय विदेश सचिवले पछि पत्रकार सम्मेलन गरेर सीमा विवाद समाधान गर्नु आवश्यक रहेको बताउनुभएको छ,’ भट्टराईले सेतोपाटीसँग भने,’केही नहुनुभन्दा त यो सकारात्मक हो। कति सकारात्मक हो भन्ने कुरा आगामी दिनमा यो विषयमा कति प्रगति हुन्छ भन्ने कुराले देखाउँछ।’

 

साताकाे चर्चित
सम्बन्धित