नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले स्थानीय तह निर्वाचनका बेला कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन्।
उनले एमाले एक्लैले कम्तीमा पनि ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेका छन्।
‘स्थानीय तहमा हामी एक्लै जित्छौं,’ न्युज एजेन्सी नेपालसँग आइतबार भएको कुराकानीमा पौडेलले भने, ‘विजयको ग्राफ ६० प्रतिशतभन्दा तल झर्दैन।’
एमालेसँग गठबन्धन गर्ने कसैले सपना नदेखे पनि हुने उनले बताए।
उनले माओवादी केन्द्रका नेताहरूलाई एमालेसँग गठबन्धन गर्न सकिन्छ भन्ने नसोच्न पनि आग्रह गरेका थिए।
माओवादी नेता वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचना गरे गठबन्धनबारे सोच्न सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए।
‘खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहन्छु- एमालेले कसैसँग गठबन्धन गर्दैन। एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भन्ने सपना नदेखे हुन्छ,’ उनले भने।
उनले एमाले कसैका आकांक्षा पूरा गर्ने तासको पत्ति नभएको पनि बताए। साथै माओवादीका कुनै पनि नेता एमालेका कुनै पनि नेतासँग औपचारिक वा अनौपचारिक संवादमा नरहेको दाबी पौडेलको थियो।
‘औपचारिक वा अनौपचारिक रूपमा कुनै संवाद भएका छैनन्। संवाद गर्नुपर्ने आवश्यकता पनि छैन,’ उनले भने। अध्यक्ष ओलीले आत्मआलोचना गर्नुपर्ने माओवादी नेताको भनाइ हाँस्यास्पद भएको टिप्पणी पौडेलको छ।
तर नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले पाँचदलीय सत्तारूढ गठबन्धनलाई चुनावसम्मै कायम राख्ने औपचारिक निर्णय गरिसकेका छन्।