दीपेन्द्रसिंह ऐरी टी-२० सिरिजको उत्कृष्ट खेलाडी
दीपेन्द्रसिंह ऐरी टी-२० सिरिजको उत्कृष्ट खेलाडी
    • बेल संचार

    • २१ चैत्र २०७८, सोमबार

नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगितामा उत्कृष्ट ब्याटिङ र बलिङ गरेका दीपेन्द्र प्लेयर अफ दि सिरिज भएका हुन्। जससँगै उनले ५ सय अमेरिकी डलर पुरस्कार पाए।

उनले प्रतियोगिताभर २५५ रन जोड्दा ७ विकेट लिन सफल भए। उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने ब्याट्सम्यानको शीर्ष स्थानमा रहे। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भने उनी चौथो स्थानमा रहे।

दीपेन्द्रले पिएनजीविरूद्धको फाइनलमा अलराउन्डर प्रदर्शन गर्दा नेपाल ५० रनले विजयी हुँदै च्याम्पियन बन्यो।

प्लेयर अफ दि फाइनल समेत भएका उनले नटआउट ५४ रन जोडे भने ४ विकेट लिन सफल भए। करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा उनले चार ओभरमा १८ रन खर्चिए। यसअघि उनको उत्कृष्ट प्रदर्शन ४ विकेट लिएर २१ रन खर्चनु हो।

प्रतियोगिता दीपेन्द्र मलेसियाविरूद्ध शतक प्रहार गरेका थिए। मलेसियाविरूद्ध उनले ११० रन जोडेका थिए। यो नेपाली ब्याट्सम्यानले टी-२० मा प्रहार गरेको उच्च स्कोर हो।

अघिल्लो साता कीर्तिपुरमै पिएनजीविरूद्धको एकदिवसीय खेलमा शतक प्रहार गरेका उनी नेपालका लागि टी-२० र एकदिवसीय खेलमा शतक हिर्काउने दोस्रो खेलाडी हुन्।

उनले प्रतियोगिताको फाइनलमा टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन समेत पूरा गरे। उनी नेपालका लागि टी-२० मा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने। यस्तै उनले २ अर्धशतक समेत प्रहार गर्न सफल भए।

प्रतियोगिताको उत्कृष्ट बलर करण केसी भए। उनले प्रतियोगितामा १३ विकेट लिए। पिएनजीका टोरी उरा उत्कृष्ट ब्याट्सम्यान घोषित भए।

साताकाे चर्चित
सम्बन्धित