काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दिएका धर्मराज पोखरेलले नीतिगत लडाई लड्ने बताएका छन् । प्रदेश समितिबाट पाएको पत्रको आधारमा उनले उम्मेदवारी मनोनयन
गराएका हुन् । उनीसँगै कांग्रेसका अर्का नेता तिर्थराज भट्टराइले पनि कांग्रेसबाट नै उम्मेदवारी दिएका छन् । पोखरेलले आफू आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आएका छन् ।
‘मैले पार्टीको विधि र सिद्धान्त अनुसार सबै प्रक्रिया पुर्याएर उम्मेदवारी दिएको हुँ’ उनले भने ‘मलाई उम्मेदवारी दर्ता गर्ने बेलामा पनि अनेक अवरोध गरियो, त्यो बेला आएपछि भन्छु ।’ पोखरेल कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन् । पत्रमा प्रदेश नम्बर १
का सभापति उद्धव थापाले हस्ताक्षर गरेका छन् । सभापतिले नगरको निर्वाचन कार्यालयलाई बोदार्थ दिएका छन् ।
उनले जिल्लाका पार्टी सभापतिलाई सम्बोधन गरेका छन् । पोखरेलले आफ्नो लडाई कुनै व्यक्ति केन्द्रित नभई सिस्टम बचाउनका लागिमात्र हुने पनि स्पष्ट पारेका छन् ।
पोखरेलले आफ्नो बारेमा पार्टीले पनि बोल्नुपर्ने भनेका छन् । ‘टिकट दिने प्रदेशको अधिकार हो त्यसो हुँदा त्यसमा कुनै शंका गर्ने ठाउँ छैन’ उनले थपे ‘म विधि र पद्धतिमा विश्वास गर्ने मान्छे हुँ, कुन सिद्धान्तले मेरो उम्मेदवारी अवैध हुन्छ जवाफ चाहियो ।’ उनले अन्य कुनै ठाउँमा नभएको विवाद आफूहरुकोमा निकालिएको भन्दै असन्तुष्टि जनाएका छन् ।