आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई कारवाही हुन्छ : आयुक्त भण्डारी
आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई कारवाही हुन्छ : आयुक्त भण्डारी
    • बेल संचार

    • १६ बैशाख २०७९, शुक्रबार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरको माहोल निर्वाचनमय बनेको छ। यसका लागि राजनीतिक दल तथा सम्बद्ध नेताका लागि जारी गरिएको  आचारसंहिता कार्यन्वयनमा आएको छ । स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता संगै आचारसंहिता उल्लंघन भएको घटनासमेत बाहिर आउन थालेको छ। निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई कारवाही गर्ने बताएको छ।

आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई के कस्तो कारवाही गर्छ र कसरी कारवाही गर्छ ? भन्ने बिषयमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गरिएको कुराकानीमा आधारित

निर्वाचन आचारसंहिताको कार्यान्वयन कसरी भइरहेको छ ?

निर्वाचन आयोगले संवत् २०७८ चैत २५ देखि आचारसंहिता लागू हुने गरी निर्णय गरेको छ । आचारसंहिता वास्तवमा सबैले अनुशासित भएर कानूनमा उल्लेख भएका विषयहरू राम्रोसँग परिपालना गर्नुपर्छ भन्‍ने सन्देश हो । यो हालमात्र नयाँ तर्जुमा भएको विषय होइन । संविधान, ऐन, नियम र प्रचलित कानूनमा समेटिएका विषयवस्तुलाई आचारसंहिताको स्वरूपमा राखिएको हो । राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ सङ्गठन, सार्वजनिक पदाधिकारी र मतदाता सबैले एउटै कानूनी लिखतभित्र गर्नुहुने र नहुने विषयको जानकारी पाऊन् भनेर आचारसंहिता जारी गरी लागू गरिएको हो । आयोगबाट आचारसंहिता लागू भइसकेपछि उम्मेदवारको मनोनयनपत्र पनि दर्ता भएको छ ।

मनोनयनपत्र दर्ता भइसकेपछि मत माग्न उम्मेदवार, दलका नेता तथा कार्यकर्ताहरू मतदाता समक्ष जानुहुन्छ । उहाँहरूले आचारसंहिताको पालना गर्ने र उल्लङ्घन समेत हुन सक्ने मुख्य समय यही हो । कसैले आचारसंहिता पालना नगरेको विषयमा कुनै उजुरी वा सूचना आयोगमा प्राप्‍त भएपछि त्यसको दर्ता गरी आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि स्पष्‍टीकरण माग्ने काम हुन्छ । हाल केही दल र नेतासँग मागेको स्पष्‍टीकरणको प्रतिक्रिया पनि आइसकेको अवस्था छ । आचारसंहिता उल्लङ्घन सम्बन्धी परेको उजुरीका घटनाको निर्णय गर्ने प्रक्रियामा आयोग पुगेको छ । केही विषय छानविनकै अवस्थामा छन् । यसरी अनुगमन गर्ने तथा आचारसंहिता विपरीतका कामको उजुरी प्राप्‍त गरी कारवाही प्रक्रिया अगाडि बढाई आचारसंहिताको कार्यान्वयन गरिएको छ ।

आचारसंहिता उल्लङ्घनका घटनामा अनुगमन गर्ने संयन्त्र कस्तो छ ?

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि चार तहमा अनुगमनका संयन्त्रहरू छन् । केन्द्रीयस्तरमा आयोगको एकजना आयुक्तको संयोजकत्वमा अनुगमन समिति छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा अनुगमन समिति छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रस्तरीय समिति छ । त्यसैगरी स्थानीय तहमा समेत अनुगमन समितिको व्यवस्था छ । ती समितिहरू आआफ्नो क्षेत्रमा क्रियाशील भएका छन् । अनुगमनको कार्य निरन्तर रूपमा भइरहेको छ । राजनीतिक दलका प्रतिनिधिलाई पनि ती समितिमा आमन्त्रण गर्ने व्यवस्था छ । सो अनुसार दलका नेता, उम्मेदवार, कार्यकर्ताहरू एवम मतदाताहरू आचारसंहिताको कार्यान्वयनमा सजग हुनुहुन्छ भन्‍ने हाम्रो पवित्र बुझाई छ । आयोगले विभिन्‍न सञ्‍चार माध्यमबाट हुन सक्ने आचारसंहिताको उल्लङ्घनलाई नियमन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घसँग सहकार्य गरी अनुगमन भइरहेको छ । सामाजिक सञ्‍जालबाट हुने आचारसंहिताको उल्लङ्घनलाई नियमनको दायरामा ल्याउन विशेषज्ञसहितको कार्यदल गठन गरी सो कार्यदलले अनुगमन गरिरहेको अवस्था छ ।

आचारसंहिताको उल्लङ्घन भएमा के कस्तो कारवाही हुन्छ ?

सम्बद्ध सबै पक्षबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन्छ भन्‍ने कुरामा आयोग विश्‍वस्त छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न आयोग कटिबद्ध छ । आचारसंहिता पालना नभएको अवस्थामा उल्लङ्घनकर्ता सजायको भागिदार हुनुपर्छ । जानी जानी सजायको भागी हुने रहर सायद कसैलाई पनि हुँदैन । तसर्थ हरेक सचेत नागरिकबाट यसको पूर्ण परिपालना हुन्छ । आयोगले उजुरीको आधारमा नभई आफैँले नियमित अनुगमन समेत गरिरहेको छ । आयोगका सबै आयुक्तहरू आफैँ खटेर पनि विभिन्‍न ठाउँमा अनुगमन गरिरहेका छौं ।काभ्रेपलाञ्‍चोक जिल्लाको तीन ठाउँमा म आफैँ पनि अनुगमन गर्न गएको थिएँ । उल्लङ्घन भएको ठाउँमा रेकर्ड गरेर आयोगमा प्रतिवेदन पठाउन भनेका छौँ । राजनीतिकदलको केही कार्यक्रममा मापदण्डभन्दा बढी झण्डा प्रयोग भएको, टिसर्टहरू प्रयोग गरेको देखिएको छ । त्यसैलाई पनि हामीले नोटिसमा लिएर कारवाहीको प्रक्रिया अघि बढाएका छौं । चन्द्रगिरी नगरपालिका ८ को कार्यालयमा साडी बाँड्ने कार्यक्रम तय भएको सूचना प्राप्‍त भएपश्‍चात् तुरुन्त हामीले रोक्न निर्देशन दियौं । त्यो कार्यक्रम तत्क्षण स्थगित भएको जानकारी आयो । हामीले लिखित रूपमा पनि स्पष्‍टीकरण सोधेका छौं । आयोगले सोधेका स्पष्टीकरणको जवाफ प्राप्त भइरहेको छ ।

उक्त स्पष्टीकरणहरूउपर आयोगले आवश्यक कारवाही गर्छ । आयोगको जानकारीमा आएसम्म आचारसंहिता उल्लङ्घनका घटनालाई नियन्त्रण गर्नेगरेको छ । आम नागरिकले पनि त्यस्ता आचारसंहिता विपरीतका कार्यहरू भएगरेको अवस्थामा आयोग र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी तथा सूचना दिन सकिन्छ । जुनसुकै माध्यमबाट सूचना प्राप्‍त भयो भने त्यसलाई तत्काल आवश्यक कारवाही प्रक्रियामा लगी आचारसंहिता उल्लङ्घन भएको वा हुँदैगरेको विषयमा कारवाही गर्ने गरिएको छ ।

सामाजिक सञ्‍जालबाट पनि कुनै उम्मेदवारको व्यक्तिगत चरित्रहत्या गर्ने गरी कुनै सूचना सम्प्रेषण गर्न पाइँदैन, तर कतिपय मिडियाकर्मी र सर्वसाधारणबाट सामाजिक सञ्‍जालमार्फत आचारसंहिता उल्लङ्घन भइरहेको सूचना आयोगलाई प्राप्‍त भइरहेको छ । त्यस्तो ठाउँमा हामीले प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघसँग समन्वय गरेर आचारसंहिता उल्लङ्घनका घटनाको न्यूनीकरणको पहल गरिरहेका छौँ । गम्भीररूपमा आचारसंहिता उल्लङ्घन भएको ठाउँमा आयोगले कानूनअनुसार कारवाही गर्छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ मा भएको कानूनी व्यवस्थाबमोजिम आयोगले कसैबाट आचारसंहिता पालना नभएकोमा त्यस्तो काम कारवाही रोक्न आदेश दिन सक्छ ।

त्यस्तो आदेशबमोजिम काम कारवाही नरोक्ने जोकोहीलाई आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्न सक्छ । कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्‍वस्त भएमा त्यस्तो उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्नसक्छ । कारवाही गर्ने अधिकार आयोगसँग सुरक्षित छ । आचारसंहिता उल्लङ्घनका गम्भीर घटना पनि छन् । तर न्यून छन् । त्यस्ता उल्लङ्घनका घटनाहरूमा आयोगले कारवाही गरी सार्वजनिक गर्नेछ । समग्रमा निर्वाचन आचारसंहिताको कार्यान्वयन अपेक्षाकृत राम्रो छ । आयोग यसबाट उत्साहित नै छ ।  स्थानीय तह इ – बुलेटिन २०७९ बाट साभार

साताकाे चर्चित
सम्बन्धित