रूपन्देहीको तिनाउ नदी माथि पुल बनाउन सुरू गरिएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ।
बुद्ध सर्किट सडक अन्तर्गत तिलोत्तमा–मोतीपुर–लुम्बिनी जोड्न तिनाउ नदी माथि २०६७ साल असार २५ गते ठेक्का सम्झौता भई पुल निर्माणको काम सुरू गरिएको थियो।
तर पुल निर्माणको क्रममा पिलर गाड्ने जगमा चट्टान फेला परेपछि वर्षौसम्म पुल निर्माण कार्य अलपत्र परेको थियो।
१८५ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त पुलको तीन वटा फाउण्डेसन र दुई वटा स्ल्याप ढलान गरेपछि अरू फाउण्डेसन तयार गर्ने बेला चट्टान भेटिएको थियो।
गतवर्ष सडक विभागको पुल महाशाखाले नै पुलको फाउण्डेसन डिजाईन परिवर्तन गरेर भए पनि पुल निर्माण गर्ने भनेपछि अहिले बल्ल निर्माण सम्पन्न भएको हो।
उक्त पुलको गृहमन्त्री बालकृष्ण खाणले शनिबार उद्घाटन गरेका छन्।
डिभिजन सडक कार्यालय बुटवलका ईन्जिनियर अशोक पौडेलका अनुसार पुल निर्माणको लागि १३ करोड ८३ लाख १५ हजार ३ सय ७८ रुपैयाँ लागत अनुमान गरिए पनि ११ करोड ७२ लाख ८८ हजार ९ सय ७ रुपैयाँमा उक्त कम्पनीले ठेक्का सम्झौता गरिएको थियो।
तर पुलको फाउण्डेसनमै समस्या देखिएपछि त्यसयता दुई पटक म्याद थप गरेपछि बल्ल निर्माणको काम पुरा भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सेतोपाटीलाई जानकारी दिए।
यसअघि २०७७ साल फागुन १३ गतेका लागि अन्तिम म्याद भनिएकोमा निर्माण पुरा नभएपछि २०७९ असार मसान्तसम्म म्याद थप गरिएको थियो।
पुल निर्माण भएपछि मणिग्रामहुँदै तिनाउ वारिपारि गर्नेलाई सहज हुने भएको छ।
यसअघि बुटवल र तिलोत्तमाको सीमा क्षेत्रमा पर्ने मगरघाटमा निर्माण गरिएको पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता थियो।
पुलको उद्घाटन गर्दै गृहमन्त्री खाणले पुल निर्माणपछि आवतजावतमा सहज बनाए पनि सुरक्षाको हिसाबले जोखिम बढेको भन्दै तत्काल प्रहरी बिट खडा गरेर सुरक्षा व्यवस्था मिलाउनुपर्ने बताए।
खाणले पुल निर्माणपछि गौतमबुद्धको मावली देवदहबाट मणिग्राम हुँदै लुम्बिनी पुग्न पनि सहज बनाईदिएकोले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने बताए।