कोभिड प्रतिकार्यसम्बन्धि कामको समीक्षा एल डब्लु एफद्वारा
कोभिड प्रतिकार्यसम्बन्धि कामको समीक्षा एल डब्लु एफद्वारा
    • बेल संचार

    • १४ असार २०७९, मंगलवार

लुथरन वर्ल्ड फेडेरेसनले आयोजना गरेको कोभिड- १९ प्रतिकार्यसम्बन्धि दुई वर्षमा गरेका कामको समीक्षा , नतिजा एवम् सिकाइ आदान प्रदान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले परियोजनाका सिकाई उपलब्धि नतिजाको समीक्षा गरेका थिए ।

देशभर कोभिड प्रतिकार्यका लागि संस्थाले परियोजना अवधिमा भएका सिकाईहरुका बारेमा बृत्तचित्रमार्फत समीक्षा  प्रस्तुत गरिएको थियो । साथै हरेक जिल्लाहरुमा भएका कामका बारेमा र त्यसले कोभिड प्रभावित व्यक्ति तथा समुदायहरुमा परेको सकारात्मक प्रभावका विवरणहरु १० वटा स्थानीय साझेदार संस्थाका प्रतिनिधिहरुले प्रस्तुत गरेका थिए ।

आर्ट ग्यालरीमार्फत हरेक जिल्लाहरुमा भएका उपलब्धिसम्बन्धि तस्बिर र प्रत्यक्ष सामाग्रीहरुसमेत देखाइएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले विपदका बेला पूरा देशले नै भोगेको पिडामा मल्हम लगाउन एलडब्लुएफले सघाउ पुर्याएको बताउनुभयो । परियोजनामार्फत सरकारको प्राथमिकतामा रहेको कार्यक्रमलाई समेत सहयोग पुगेको उहाँको भनाइ थियो  ।

अष्ट्रेलियन दुतावासकी विकास कार्यक्रम प्रमुख कभिता कायस्नाथले परियोजनामार्फत अष्ट्रेलियन संस्थाले नेपाली जनताका लागि गरेको सहयोग उपलब्धिपुर्ण भएको बताउँदै खुशी व्यक्त गर्नुभयो ।

यस्तै याक्ट नेपालका प्रतिनिधि विद्यानाथ भुर्तेलका अनुसार संस्थाले गरेका कामहरु आफ्नो सिकाइका लागि समेत महत्वपुर्ण भयो ।

परियोजनामार्फत भोलि आइपर्ने विपदहरुमा कसरी प्रभावितहरुसम्म पुग्ने भन्ने कुराको ज्ञान भएको एलडब्लुएफकी राष्ट्रिय निर्देशक डा.बिजया बज्राचार्य बताउनुभयो । यस्तै  कार्यक्रमबाट विभिन्न संस्थाका बीच अनुभव साटासाटासाट गर्दा नयाँ कुरा सिक्ने अवसरसमेत प्राप्त भएको उहाँको भनाई थियो ।

२०१९ को अन्त्यमा सुरु भएर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित वर्ग तथा समुदायलाई राहत पुर्याउने उद्देश्यले संस्थाले स्थानिय साझेदार  संस्थाहरुसंग समन्वय गरि कोभिड प्रतिकार्यसम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । जसअन्तर्गत ५ ओटा प्रदेशका १६ जिल्लाका ५३ ओटा स्थानिय तहहरुलाई लक्षित गरि तत्कालका लागि जिवनयापन गर्ने सामाग्रीदेखि जिविकोपार्जनका कार्यक्रमहरुसमेत समावेश गरिएको थियो । साथै स्वास्थ्य संस्थाहरुमा कोभिड प्रतिकार्यका लागि आवश्यक सामाग्री, सचेतना, कोभिड भ्यक्सिनलगायतका कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

परियोजनामार्फत विपन्न, गरिब, महिला तथा बालबालिका, बृद्धबृद्धा तथा अपाङ्गता भएका झण्डै डेढ लाख मानिसहरु लाभान्वित  भएका थिए । परियोजनामा प्रत्यक्ष रुपमा सहयोग पुर्याएका सहयोगी संस्थाहरुलाई सम्मान गर्दै कार्यक्रमको अन्त्य गरिएको थियो।

साताकाे चर्चित
सम्बन्धित