श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन्।
शनिबार साँझ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावपूर्ण स्थिति श्रृजना भएको थियो।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो। यसै क्रममा प्रधानमन्त्रीको सुरक्षामा तैनाथ अधिकारीले घरबाहिर उपस्थित पत्रकारमाथि हमला गरेपछि भीड झनै आक्रोशित भयो। त्यसपछि भीडले प्रधानमन्त्रीको निजी घरमा आगजनी गरेको थियो।
श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरूले शनिबार राष्ट्रपति निवास घेरेका थिए।
दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन्।
यसैबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएका छन्।
प्रदर्शनकारीले आफ्नो सरकारी निवासमा आक्रमण गरी प्रधानमन्त्रीको घरमासमेत आगजनी गरेपछि आफूले राजीनामा दिने घोषणा गरेका हुन्।
संसदका सभामुख महिन्दा यापा अबेवर्देनाका अनुसार राजापाक्षेले आगामी जुलाई १३ मा राजीनामा दिने भएका छन्। प्रधानमन्त्री विक्रमासिंघे पनि राजीनामा दिन सहमत भएका छन्।
सभामुख महिन्दा यापा अबेवर्देनाले एक भिडियो सन्देशमा राजापाक्षेले बुधवार आफ्नो पदबाट राजीनामा दिने जानकारी गराएको बताएका हुन्।
राष्ट्रपतिले शान्तिपूर्वक शक्ति हस्तान्तरण सुनिश्चित गर्न पद त्याग गर्ने निर्णय गरे र जनतालाई कानूनको सम्मान गर्न आह्वानसमेत गरेको सभामुखले जानकारी दिएका छन्।
‘१३ जुलाईमा राष्ट्रपतिले पद त्याग गर्ने निर्णय शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण सुनिश्चित गर्न लिइएको हो,’ अबेवर्देनाले भिडिओ सन्देशमा भनेका छन्, ‘त्यसैले म जनतालाई कानूनको सम्मान गर्न र शान्ति कायम गर्न अनुरोध गर्दछु।’
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन तयार रहेको उनको कार्यालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राजधानी कोलम्बोमा महिनौंदेखि चलेको आर्थिक संकटको विरोधमा राजापाक्षेलाई राजीनामा दिन आह्वान गर्दै हजारौं मानिस राजधानी कोलम्बोमा आएका थिए।
७० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटको बीचमा श्रीलंकाले अत्यधिक मुद्रास्फीतिको सामना गरिरहेको छ र खाद्यान्न, इन्धन र औषधि आयात गर्न संघर्ष गरिरहेको छ।
प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो।
आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन्।