विश्वकप क्रिकेट लिग-२ : नामिबियालाई स्कटल्यान्डले हरायो
विश्वकप क्रिकेट लिग-२ : नामिबियालाई स्कटल्यान्डले हरायो

घरेलु टिम स्कटल्यान्डले बिहीबार भएको खेलमा नामिबियालाई ३ विकेटले हरायो।

    • बेल संचार

    • ३१ असार २०७९, शुक्रबार

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले दोस्रो जित हात पारेको छ।

घरेलु टिम स्कटल्यान्डले बिहीबार भएको खेलमा नामिबियालाई ३ विकेटले हरायो।

नामिबियाले दिएको २१६ रनको लक्ष्य स्कटल्यान्डले ७ विकेटको क्षतिमा ४८.५ ओभरमा पूरा गर्‍यो।

स्कटल्यान्डका लागि क्रिस ग्रेइभ्सले नटआउट ५३ रन र सफयन सरिफले नटआउट ४० रन जोडे। त्यसअघि कलुम म्याकलियोर्डले ५९ रनको योगदान दिएका थिए।

बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेटको क्षतिमा २१५ रन जोडेको थियो। नामिबियाका लागि जान फ्राइलिंकले नटआउट ६० रन र कप्तान इरामसले ५६ रन जोडे।

सिरिजमा यसअघि पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले स्कटल्यान्डले हराएको थियो। स्कटल्यान्डले भने नामिबियासँगका दुवै खेलमा जित निकालेको छ।

७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।

२३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।

पाँचौ स्थानको नेपालले १८ खेलबाट १७ अंक जोडेको छ।

छैठौं स्थानको नामिबियाले १७ खेलबाट १६ अंक जोडेको छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।

सिरिजमा नेपालको खेल
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड –  असार २९
नेपाल भर्सेस नामिबिया –  असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १

साताकाे चर्चित
सम्बन्धित